Logo
Logo

मतपत्रमा उम्मेदवार नहुने दलको चिन्ह नहुने, गठबन्धन दललाई हाइसन्चो


11k
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दललाई हाइसन्चो हुने भएको छ । मतपत्रमा उम्मेदवार नभएको दलको निर्वाचन चिन्ह नहुने भएपछि गठबन्धन दललाई हाइसन्चो हुने भएको हो ।

निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा उम्मेदवार नभएको दलको निर्वाचन चिन्ह नराखिने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने– ‘जो मान्छे उम्मेदवार हुन्छ, मतपत्रमा उसकै चिह्न मात्र राख्ने अन्तरर्राष्ट्रिय प्रचलन र मान्यता नै हो । स्थानीय निर्वाचनमा यी कुराहरु आयोगले पालना गर्न नसकेकै हो । यसपटक भने उम्मेदवार भएको दलको मात्र चिन्ह राखिन्छ ।’

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा पनि गठबन्धन गरेर निर्वाचन सहभागी दलले उम्मेदवार नभएको पार्टीको निर्वाचन चिन्ह मतपत्रमा नराख्न माग गरेका थिए । तर, निर्वाचन आयोगले त्यो व्यवस्था गर्न सकेन ।

स्थानीय निर्वाचनमा उम्मेदवार नउठाएको दलको निर्वाचन चिन्ह पनि मतपत्रमा राखिएको थियो । उम्मेदवार नभएको दलको चिन्ह पनि मतपत्रमा राख्दा धेरैले चिन्ह हेरेर मतदान गरेका कारण धेरै मत बदर भएको थियो । सोही समस्याका कारण आयोगले यस पटकको निर्वाचनमा उम्मेदवार नभएको दलको चिन्ह मतपत्र नराख्ने निर्णय गरेको हो ।

मतपत्रमा उम्मेदवार नभएको पार्टीको निर्वाचन चिन्ह नहुने भएपछि गठबन्धन गरेर निर्वाचनमा सहभागी दललाई राहत मिल्ने भएको छ ।

गठबन्धनका आधारमा सिट बाँडफाँट हुँदा एउटा निर्वाचन क्षेत्रमा गठबन्धनबाट एकजना मात्र उम्मेदवार हुन्छन् । त्यस्ता उम्मेदवार आफ्नै निर्वाचन चिन्हबाट प्रतिस्पर्धामा रहँदा गठबन्धनका अन्य दलले पनि उम्मेदवारकै निर्वाचन चिन्हमा मतदान गर्नुपर्ने हुन्छ ।

तर, आफ्नो पार्टीको उम्मेदवार नै नभए पनि निर्वाचन चिन्ह मतपत्रमा भेटेपछि मतदाताले सोही चिन्हमा मतदान गर्दै आएका छन् । त्यस्तो मत बदर हुने गरेको छ ।

यसपटक भने उम्मेदवार नहुने पार्टीको निर्वाचन चिन्ह नहुने भएपछि पार्टीले गरेको निर्णयअनुसार तोकिएको व्यक्ति र चिन्हमा मतदान गर्न मतदाता बाध्य हुनेछन् । यस्तो अवस्थमा गठबन्धनलाई फाइदा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्