Logo
Logo

चोलेन्द्रविरुद्ध कारबाही प्रक्रिया सुरु


2.7k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध कारबाही प्रक्रिया सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ । न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको बैठक बसेर छानबिन प्रक्रिया सुरु हुन लागेको हो ।

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने विजनेश छ । विजनेश पाएको १० औं दिनमा महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।

महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता कांग्रेसबाट समिति सदस्य रहेका रामबहादुर विष्टले गर्नेछन् । उनी समिति सदस्यहरूमा सबैभन्दा ज्येष्ठ हुन् । समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका संवैधानिक पदाधिकारीलाई सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने कानुनी प्रावधान छ ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो ।

२९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्