काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको छ ।
पर्वान प्रान्तमा मंगलबार आएको बाढीमा १७ जना घाइते भएका छन् । त्यहाँको बख्तर समाचार समितिले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।
बाढीमा परी अझै पनि दर्जनौं मानिस हराइरहेका खामा प्रेसले जनाएको छ । भीषण बाढीका कारण पर्वान–बम्यान राजमार्गसमेत अवरुद्ध भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीका कारण दर्जनौं घर र सयौं एकडमा लगाइएको बालीनाली समेत नष्ट भएको छ ।
भारी वर्षा र बाढीले पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जसिर प्रान्तलगायत अन्य धेरै अफगान प्रान्तलाई असर गरेको छ ।