Logo
Logo

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि छलफल सुरु


315
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोगबारे अध्ययन सुरू गरेको हो ।

बुधबार राणाविरूद्धको महाअभियोगबारे छलफलका लागि महाअभियोग सिफारिस समितिको बैठक बसेको छ । सिंहदरबारमा बसेको समिति बैठकमा सदस्यहरूले आ–आफ्ना धारणाहरू राखेका छन् ।

बैठकमा बोल्दै एमाले सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रक्रियामा कानुनविपरीत गइरहेको बताएका छन् । महाअभियोग दर्ता भएर पनि लामो समयसम्म अध्ययन नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्नेछ । यस्तै सभापति चयनका बारेमा पनि बैठकमा छलफल भएको छ ।

गत १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । २९ फागुनमा प्रतिनिधिसभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्