Logo
Logo

माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने एसको निर्णय


7.3k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले वामहरुको बीचमा एकताको पहल एस र माओवादी केन्द्रबाट शुरु गर्ने निर्णय गरेको हो । दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

एकता संयोजनमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहने उनले बताए ।

बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको छ । बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको तुलाधरले बताए ।

त्यस्तै, कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने उनले बताए ।

तुलाधरले प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरू सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताए ।

केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको तुलाधरले बताए ।​

प्रतिक्रिया दिनुहोस्