Logo
Logo

नेपालमा प्रचलित भाषा लोप हुँदै गएकामा चिन्ता


315
Shares

काठमाडौं । नेपालमा प्रचलित कतिपय भाषा लोप हुने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् ।

भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेको कार्यक्रममा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरु र भाषायोजना’ विषयक अन्तक्र्रियामा उनीहरुले उक्त धारणा राखेका हुन् ।

कार्यक्रमका मुख्य प्रस्तोता भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपालमा प्रचलित भाषाको अवस्था र कार्ययोजनाका बारेमा चर्चा गरे । उनले भाषा संवादको माध्यमसँगै आमसंस्कृतिको संवाहक भएको बताए ।

उनले भने, ‘नेपालमा संविधानको बहुभाषिक नीति कार्यान्वयनमा आउन सकेको छैन । यसलाई व्यवहारिक ढंगले राज्यले संबोधन गर्नुपर्दछ । भाषा म¥यो भने सिंगो सभ्यता मर्दछ । तसर्थ भाषाको संरक्षणमा राज्यले विशेष पहलकदमी लिनुपर्दछ ।’

भाषाविज्ञ ठाकुरले नेपालमा पछिल्लो समय शिक्षामा अंग्रेजी हाउगुजीका कारण नेपाली भाषा पनि संकटमा परेको जिकिर गरे । उनले मातृभाषाको पाठ्यक्रम राज्यले बनाए पनि दरबन्दी नराखेको बताउँदै यसमा गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे । उनले नेपालमा वैदेशिक रोजगारीले गर्दा कोरियाली, जापानी, चिनियाँ लगायतका भाषा सिक्नुपर्ने बाध्यता आएको जनाए ।

डा. ठाकुरले भाषा संरक्षणमा कम्तिमा ३ कक्षासम्म मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै भने, ‘३ कक्षासम्म मातृभाषा भाषामा पठनपाठनको वातावरण बनाउन सकेमा भाषा संरक्षणमा महत्वपूर्ण योगदान हुन सक्छ ।
साथै शिक्षकको दरबन्दी पनि उचित ढंगले व्यवस्थापन गरिनु पर्दछ ।’ उनले लोपोन्मुख भाषाको संरक्षणका लागि अनौपचारिक तथा औपचारिक दुवै तरिकाले काम गर्नुपर्नेमा जोड दिए ।

डा. ठाकुरले मातृभाषामा काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिन सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले नेपालमा बोलिने सबै भाषाको संरक्षणका लागि राज्यले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिँदै काम गर्नुपर्ने जनाए ।

कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले भाषाको विकास र संरक्षणमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले संस्कृत भाषा सबैभन्दा पुरानो भाषा भएकाले यसको पनि सही ढंगले खोज अनुसन्धान हुनुपर्ने बताए ।
परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले नेपालको संविधान २०७२ ले बहुभाषिक मुलुक भनेर मानेको जनाउँदै यसको कार्यान्वयन पक्षलाई सबल बनाउनु पर्ने विचार व्यक्त गरे ।

उनले भने, ‘मुलुकभित्रका भाषालाई समान ढंगले विकास गरिनुपर्दछ । यसमा राज्यले आवश्यक कानुन निर्माण गरेर भए पनि भाषाको विकास र संरक्षणमा विशेष पहल लिन जरुरी छ ।’

पूरक प्रस्तोता संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले भाषा गम्भीर व्यापक विषय भएकाले यसको मर्मलाई राज्यले संबोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सभ्यताको सिंगो इतिहास, राजनीति, सामाजिक परिवेश आदि सबैलाई भाषाले समेट्ने जनाउँदै मातृभाषाको विकास र संरक्षणमा राज्यले काम गर्नुपर्ने बताए ।

यस्तै, अर्का पूरक प्रस्तोता सहप्रा.डा. विष्णु दहालले निमाविभन्दा तल मातृभाषामा पढाउनु पर्ने बताउँदै भाषा मानिसको संवेदना र जीवनसँग जोडिएको विषय भएको धारणा व्यक्त गरे ।

सो कार्यक्रममा प्रा.डा. राजनप्रसाद दाहाल, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, भीम रेग्मी, अग्रज मिथिला कलाकार ससी सुमन, अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रा.डा.देवनारायण यादव, प्रा.डा. गोपीन्द्र पौडेल, तेजनारायण यादव, चेतनाथ धमला, रमेश खतिवडा लगायतले नेपाली भाषा र तिनको अवस्थाका बारेमा बहस गरेका थिए ।

उपप्राध्यापक तेजविलास अधिकारीले भाषालाई संरक्षण गर्नुपर्ने दायित्य राज्यको भएको विचार व्यक्त गरे । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म भाषालाई अध्ययनको विषय बनाउँदै तिनका विविध पक्षको अध्यापन गरिनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल, प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, जनसांस्कृतिक महासंघका उपाध्यक्षहरू देवेन्द्र थुम्केली, केशव सिलवाल, प्रगति महरा, भीम कुमाखी, डम्बर रोकाय, साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, प्रा.डा. देवनारायण यादवलगायतकाे उपस्थिति रहेको थियो ।

यस्तै, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, वाल्मीकि विद्यापीठका प्राध्यापकहरू डा. राजनारायण ठाकुर, विद्यार्थी रमेश खतिवडा, कर्मचारीहरू टेकनाथ पाण्डेय, घनश्याम सिग्देल र टेगराज पौडेल, विश्वभाषा क्याम्पसका प्राध्यापक भीमनाथ रेग्मी, ललितकलाका वरिष्ठ कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ एस.सी. सुमन, पाल्साङमो लामा तथा नेपाली केन्द्रीय विभागका विद्यार्थीहरू– केशव सुवेदी, उमेश न्यौपाने, सुमन्द्रा साउद, दिवाकर विष्ट, सरोज तिमल्सिना अनि अन्य व्यक्तित्वहरू सन्तोष सिम्खडा, तेजनारायण ठाकुर, सुयशकुमार न्यौपाने तथा स्रष्टा शोभाराम ओलीलगायतको उपस्थिति थियो ।

सोही अवसरमा स्रष्टा शोभाराम ओलीको बाछिट्टा संग्रह ‘अथाह’ को विमोचन गरियो । नेपालका भाषाहरूको भाषा तथा लोकवार्ता परिषद्का संयोजक डा.बालाकृष्ण अधिकारीले जनाए । उनले भूमिका र तिनको उत्थान, विकास र समृद्धिका राज्यका तर्फबाट योजनाबद्ध पहलकदमी लिनुपर्ने कुरामा यस कार्यक्रमले गहन सुझावहरू प्रदान गरेको बताए ।

उनले भने, ‘संविधानको प्रस्तावनामै उल्लिखित बहुभाषिक मुलुकका रूपमा नेपाललाई स्थापित गर्न अविलम्ब भाषायोजनाको कार्ययोजना ल्याउनुपर्ने, मातृभाषाहरूको विकासमा ध्यान दिनुपर्ने र संकटापन्न अवस्थामा रहेका भाषाहरूलाई संरक्षण र अभिलेखीकरण गर्न सरकार र भाषा आयोगले विशेष पहल गर्नुपर्ने लगायतका सुझावहरू आएका छन् ।’

समालोचक तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रम परिषदका संयोजक डा. बालाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्