Logo
Logo

माओवादीले टुंगो लगाउन सकेन पदाधिकारी


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन गरेको आठ महिना वितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । पदाधिकारी टुंगो लगाउने भन्दै पटक पटक बसेको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

यस्तै, बिहीबार बस्न नसकेको स्थायी समिति बैठक शुक्रबार बिहान बसेको छ । पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको आजको बैठक पनि निष्कर्षविहीन भएको छ ।

शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । उनका अनुसार अब शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने भएको छ ।

शुक्रबार बसेको बैठकमा बोल्ने सहभागी अधिकांशले स्थायी कमिति सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । स्थायी कमिति सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताएका छन् । उनले शनिबार बस्ने बैठकले पदाधिकारी चयन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘पदाधिकारीको विषयमा गम्भीर छलफल भएको छ । सम्भवतः शनिबार टुंगो लाग्ने छ ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने चर्चा छ । साथै यसअघि महासचिवका लागि चर्चामा आएका वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मालाई उपाध्यक्ष बनाउने अध्यक्षको योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्