Logo
Logo

मीना शाही अर्थात बेसहारा कुकुरहरुको सहारा


630
Shares

काठमाडौं । लकडाउनको समय थियो । सडक सुनसान । मानिस सबै आ–आफ्नो घरमा बन्दी थिए । सडकमा निस्कने मानिसलाई प्रहरीले पक्राउ गरेर ‘हिल्डिङ सेन्टर’मा राखेका थिए ।

कालिमाटी, रविभवन, कुलेश्वर क्षेत्र पूरै सुनसान थियो । तर, सडकमा कुकुरहरु भुकिरहेका हुन्थे । झुण्ड–झुण्ड सडक कुकुरहरु खानाको खोजीमा भौतारिरहेका हुन्थे ।

रविभवनस्थित लिंकन स्कुलेको पार्किङमा बिहान एक महिला कुकुरहरुका लागि खाना बनाएर ल्याइरहेका थिए । त्यो पार्किङमा १०–१२ वटा कुकुर हरेक बिहान बेलुकी ती महिलाको प्रतिक्षामा हुन्थे ।

अर्को दिन ती महिला सोल्टीमोड, साल्ट ट्रेडिङ वरपरका गल्लीहरुमा भेटिए । त्यस क्षेत्र वरपरका कुकुरहरुलाई पनि उनले खाना खुवाइरहेको दृश्य देखियो ।

नाम, मीना शाही । घर, पाटन । व्यवसाय, सोल्टीमोडमा मासु पसल । उनका श्रीमान् नारायणमान खड्गी र छोरी रमिना शाहीले पनि आमा मीनाको काममा सघाउ पुर्याउँदै आएका छन् ।

मीनाको परिवार नै कुकुरलाई माया गर्ने परिवार हो । १०–१२ वर्षदेखि मीनाले कुकुरहरुको भोको पेट भर्दै आएका छन् ।

मीनाका श्रीमान् नारायण भन्छन– कुकुरले मानिसको रक्षा गर्छ, माया गर्छ, तर उनीहरुलाई मानिसहरुले हेला गर्छन् । कुकुर घरपालुवा जनावर भएकोले हामीले कुकुरलाई परिवारसँग जोडेर हेर्नुपर्छ । त्यसैले कुकुरहरुको सेवा गर्दै आएका छौं ।

दैनिक मासु भात खुवाउन करिब १० हजार खर्च हुन्छ । बिहान ८ बजे बेलुकी ५ बजे दुई छाक खाना मीनाले सडकका कुकुरलाई खुवाउँदै आएको १०–१२ वर्ष बितिसक्यो । दया हुनेहरुले मीनालाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।

छोरी रमिनाले पनि सडक दुर्घटनामा परेका र बिरामी भएका कुकुरको उपचारमा सहयोग पुर्याइरहेका छन् । मनुमित्र क्यानलले निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

रविभवन, सोल्टीमोड र कालिमाटीका ५०–६० कुकुरलाई बिहान, बेलुकी दुई छाक मासु र भात खुवाउने काम कम चुनौतीपूर्ण छैन । मीना धनको धनी नभए पनि मनको धनी रहेछन् भन्ने कुरा उनको सेवाभावबाट पनि बुझिन्छ ।

‘लकडाउन’जस्तो संकटको बेला मानिसले समेत एक छाक खान नपाएको समय सडकका ५०–६० वटा कुकुरलाई मासु भात खुवाउने मनकी धनी मीनाको जति प्रशंसा गरे पनि पुग्दैन ।

प्रतिक्रिया दिनुहोस्