Logo
Logo

संघीयता बलियो भए मात्र शहीदको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही


441
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको बताएका छन् ।

शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै उनले भने,‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ । साथै शहीद परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं ।’

मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको व्यवस्था प्रदेश सरकारले गरेको बताए । कर्णाली प्रदेश स्थापनको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै ठूलो आन्दोलन भएको थियो । हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालिन सोचलाई पुरा गर्न ‘६ ब’ को नीति अपनाइएको बताए । र, सोही अनुसार सरकार अघि बढिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्