Logo
Logo

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा


630
Shares

कास्की । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले एक करोड ४० लाख विनियोजन गरेको थियो । अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएकोबाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको हो ।

अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताए ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण सुरु गरेको छ । प्रदेश खेलकुद परिषद्ले शुक्रबारदेखि पहिलो चरणमा १४ खेलको विशेष प्रशिक्षण सुरु गरेको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद : छोटो समयको तयारीले सकसमा खेलाडी

प्रतिक्रिया दिनुहोस्