Logo
Logo

कोदो खेतीमा किसानको आकर्षण घट्दो


882
Shares

भोजपुर । बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो ।

यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती गरे पनि व्यावसायिकरुपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् ।

परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन् । कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउनुहुन्छ ।

विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेकामा पछिल्लो समय छाड्दै गएको उनको भनाइ छ । ‘पछिल्लो समय हाम्रो क्षेत्रमा कोदो खेती घट्दै गएको छ’, कृषक प्रधान भन्छन्, ‘कोदो खेतीमा कमैको मात्र रुचि देखिन्छ । कोदो खाने चलन गाउँघरमा घट्दै गएको छ । विगतका दिनमा जस्तो उत्पादन पनि हुन्न ।’

कोदो स्थानीय बजारमा प्रतिपाथी रु एकसय ६० मा बिक्री हुने गरेको छ । आफ्नो बारीमा उत्पादन भएको कोदो स्थानीय सौर्य बजार लगेर बेच्ने गरेको उनले जानकारी दिए । मानिसले ढिँडो वा रोटी बनाएर खानेभन्दा पनि जाँडरक्सी बनाउन मात्र बढी प्रयोग हुने गरेको छ । दसैँ, तिहार, किरात राईहरुको उधौली, उभौलीलगायत चाडमा बढी कोदोको माग हुने कृषक प्रधान बताउछन ।

उनले भने, ‘यसको परिकार बनाएर खाने चलन कम छ । कहिलेकाहीँ मानिसले ढिँडो बनाएर खान्छन् तर गाउँघरमा दैनिकरुपमा ढिँडो, रोटीलगायत परिकार बनाएर खाने चलन घट्दै गएको छ । खास गरेर जाँडरक्सी बनाउनका लागि नै कोदोको खोजी हुने गरेकामा चाडबाडको समय बाहेक अरु समयमा खास कोदोको खोजी हुँदैन ।’

वार्षिकरुपमा आफूले १० देखि १२ मुरीसम्म कोदो फलाउँदै आएको र अहिले गाउँमा करिब २० देखि ३० मुरीको हारहारीमा मात्र कोदो उत्पादन हुने गरेको छ । किषक प्रधान बताउछन् ।

‘खासमा कोदो खानुको फाइदा थाहा नभएर पनि खेतीमा रुचि देखिँदैन’, उनी भन्छन, ‘सहर बजारबाट सहजरुपमा चामल आउने अवस्था छ । मानिस त्यसैलाई मिठो मानेर खान्छन् तर मैले भने कोदो उत्पादन हुने क्षेत्र घटाएको छैन । दैनिकरुपमा उपभोग गर्छु । यसको महत्वका बारेमा जानकारी दिएर उत्पादनमा जोड दिन आवश्यक छ । यस्तै अवस्था हो भने कोदो लोप हुने अवस्था पनि आउन सक्छ ।’

खाद्यसुरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले कोदोलाई महत्वपूर्ण बालीका रुपमा लिइन्छ । यसलाई ढिँडो, रोटी, सातु, लिटो, खोलेलगायत परिकार बनाएर खान सकिने स्थानीय किसानको भनाइ छ । कोदोको खोलेलाई चिसोका कारण हुने रोगको औषधिका रुपमा लिन सकिन्छ । चिसोले सताए कोदोको खोले खाएमा ठिक हुने उनीहरु बताउँछन् ।

केही सिमित कामका लागि मात्र खोजी हुने भएकाले कोदो खेतीमा किसानको रुचि कम हुँदै गएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपाल बताउछन् । आफ्नो वडाका धेरै मानिसले कोदो खेती गर्न छाड्दै गएको उनको भनाइ छ ।

किसानमा परम्परागतरुपमा हुँदै आएको कोदोलगायत बालीको विकल्पमा अन्यबाली लगाउने चलन बढेको छ । ‘मानिसले वैकल्पिक बालीको खोजी गर्ने भएकाले कोदोप्रति कम रुचि देखिन्छ’, वडाध्यक्ष नेपाल भान्छन, ‘आठ, दश वर्षअघिसम्म प्रशस्त कोदो उत्पादन हुन्थ्यो । त्यसको खपत यही नै हुने गरेको थियो तर अहिले यो अवस्था छैन । सामान्यरुपमा खेती गरे पनि धेरै मानिसले कोदो रोप्न छाडेको अवस्था छ ।’

जिल्लामा छ हजार हेक्टर कोदोबालीका लागि खेतीयोग्य जमिन रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । व्यावसायिकरुपमा किसानले खेती गर्न छाड्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास अम्गाईं बताउछन् ।

अहिले किसानले गरिरहेको कोदोखेती निर्वाहमुखी मात्र रहेको उनको भनाइ छ । कोदोको महत्वलाई नबुझेर नै किसानले खेती गर्न छाडेको देखिन्छ । कोदो खानु स्वास्थ्यका लागि अति नै लाभदायक छ । तौल घटाउन पनि कोदो खान नै राम्रो मानिन्छ । कोदो खाएको लामो समयसम्म भोक नलाग्ने भएकाले र तौल नियन्त्रणमा सहयोग पुग्ने भए पनि ग्रामीण भेगका किसानलाई कोदोका फाइदाका विषयमा जानकारी नहुँदा खेती कम भएको हुनसक्ने सूचना अधिकारी अम्गाईंको भनाइ छ ।

‘कोदोखेतीमा किसानको खास उत्साह देखिँदैन’, उनी भन्छन, ‘यसको फाइदाका विषयमा जानकारी नहुँदा पनि खेती घट्दै गएको देखिन्छ । यसलाई व्यवसायीकरण गर्नसके किसानलाई पनि लाभ पुग्ने थियो तर अहिलेको खेती प्रणाली निर्वाहमुखी मात्र देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्