काठमाडौं । पश्चिम नवलपरासीमा प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधको नक्कली मुद्दामा पक्राउ गरेको घटनामा मुुख्य योजनाकारलाई जोगाउन चलखेल भएको छ । जिल्लाका एसपी ऋषिराम कँडेल र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको योजनामा लागु औषध मुद्दामा फसाइएकोमा तल्लो तहका प्रहरी र गुप्ताका सहयोगीमाथि मात्र कारबाही गर्न लागिएको छ । यसका लागि गाउँपालिका अध्यक्ष गुप्ताले आर्थिक चलखेल गरिरहेका छन् ।
गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरी दाबी थियो । छानबिनका क्रममा योजनाबद्ध रुपमा फसाइएको पुष्टि भएको छ ।
लागुऔषध कारोबार भइरहेको छ भने सूचना दिएर पक्राउ गराउने रघुनाथ धोबी पक्राउ परेपछि गुप्ता र पासवान निर्दाेष रहेको पुष्टि भएको हो । धोबीले आफ्नो दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् ।
छानबिनका क्रममा निर्दाेष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको छ । तर, बरामदी मुचुल्का सच्याए मात्र छाड्ने सरकारी वकिलको अडान छ । सोही कारण अनुसन्धान अधिकृत रहेका धर्म खत्रीलाई मुचुल्का सच्याउन दबाब दिइएको छ । तर, उनले आफुले कुनै गल्ती नगरको र एसपीको निर्देशनमा मुचुल्का हस्ताक्षर गरेको भन्दै मुचुल्का सच्याउन मानेका छैनन् ।
तल्लो तहका प्रहरीको मात्र गल्ती देखाएर एसपी कँडेललाई जोगाउन लागिएको छ । त्यस्तै धोवीलाई सबै कसुर सकार्न लगाई गाउँपालिका अध्यक्षलाई पनि जोगाउने खेल भइरहेको छ ।
गाउँपालिका अध्यक्ष र रामाबीच कवाडी ठेक्को लेनदेन विवाद भएकाले एसपी कँडेलमार्फत उनले लागुऔषध मुद्दामा फसाएका थिए । प्रहरीले सुनियोजित रुपमा फसाएको पुष्टि हुँदा पनि गृह मन्त्रालयले एसपी कँडेललाई त्यही राखेर प्रमाण जोगाउने ठाउँ दिएको छ । गाउँपालिका अध्यक्षले नै शक्तिकेन्द्रमा आर्थिक चलखेल गरी यो घटना मिलाउन लागिपरेको स्रोत बताउँछ । उनले केही उच्च प्रहरी अधिकारीलाई समेत आर्थिक प्रभावमा पारेका छन् ।
गाउँपालिका अध्यक्ष गुप्ता माओवादीका केन्द्रीय सदस्य हुन् । अवैध धन्दाबाट करोडौं कमाएका उनी त्यही कालोधन प्रयोग गरी यतीबेला आफुविरुद्धको मुद्दा डिसमिस गराउन लागिपरेका हुन् ।