Logo
Logo

तीज : समानताका लागि समान पहिरन


693
Shares

यहाँका हिन्दू महिला तीजको तयारीमा लागेका छन् । २ वर्षसम्म कोरोना महामारीका कारण मनाउन नपाएका कैलालीका महिला यस वर्षको तीजलाई भव्य बनाउने योजनामा छन् ।

दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सरु भइसकेका छन् । केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो ।

उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए । ‘समानता आफैबाट सुरु गर्नुपर्छ भन्ने ठान्यौं । तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरुलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोशाकमा तीज मनायौं,’ अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भनिन्, ‘‘हम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो । एकापसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो ।’

लम्कीचुहाकी सन्जु भण्डारी र उनका साथीले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाए । रमाइलोसँगै एउटै खालको साडी लगाउने चलन रहेको उनले सुनाइन् । ‘तीजमा गरिने अनावश्यक खर्च रोकौँ र रमाइलो गरौँ भनी सल्लाह ग¥यौँ,’ उनले भनिन्, ‘सबैको हैसियत एउटै देखियो । एकअर्कामा कमजोर अनुभूति कसैमा भएन ।’ विगतका तीजमा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्थे । यस वर्ष भने त्यो क्रम घटठेको देखिएको छ ।

टीकापुरमा तिमिल्सिना समाजमा आवद्ध महिलाले समेत एउटै खालको साडी किनेका छन् । तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम तय गरेका छन् । सबैमा समानता देखियोस् भनेर बजारमा सस्तोमा पाउन सकिने साडी किनेको समाजमा आवद्ध रेश्मा भट्टले जानकारी दिइन् ।

‘हामी दिदी–बहिनी फरक देखिनु भएन, कोही धनी, कोही गरिब छन्, चाडपर्वले त धनी–गरिब भन्दैन । सबैका लागि उस्तै र समान हो,’ उनले भनिन् । जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीजलाई भड्किलो नबनाउन आग्रह गरेको छ । पर्वका अवसरमा अनावश्यक भीडभाड नगर्न, पार्टी प्यालेस तथा होटलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ ।

पर्व मानिसको खुसीसँग जोडिएको हुन्छ । पर्वले खुसी र उमंग ल्याउनुपर्छ । मानिसले ध्यान नदिँदा, अनावश्यक खर्च गर्दा पर्वले दुःखी पनि बनाउन सक्छ । त्यसैले अनावश्यक खर्च नगरी सामान्य तवरले तीज मनाउनुपर्ने कर्णाली मावि टीकापुरकी शिक्षिका कल्पना रेग्मीको भनाइ छ ।

‘चाडपर्वले एकता, सद्भाव र मेलमिलाप बढाउनुपर्छ । अझ तीज महिलाको पर्व भएकाले यसले महिलाबीचको असमानता तोड्नुपर्छ,’ उनी भन्छिन्, ‘तीजलाई उत्सवका रूपमा मनाउँदा अनावश्यक फेसन र सम्पत्ति देखाउन आवश्यक छैन ।’ महिलाको स्वतन्त्रासँग जोडिएको पर्व भएकाले पहिरन समान लगाउनु, सामान्य दर कार्यक्रम गर्नु ठीकै हो । समान पहिरनका नाममा नयाँ कपडा किन्न नसक्नेलाई दबाब भने दिन हुँदैन ।

लम्कीचुहा–३ की दुर्गा सोव सम्पन्न महिलाले तीजमा लगाउने कपडा र गहनाले विपन्न महिलालाई तनाव हुने गरेको बताछिन् । ‘पर्व सबैको हो । सबैले मनाउन पाउनुपर्छ । बजारमा हुने तीज कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने अवसर हामीले पनि पाउनुपर्छ,’ उनले भनिन्, ‘बजारका महिलाका गहना देखेर हामी मञ्चमा चढ्न पनि हिम्मत गर्दैनौँ ।’ तीजलाई आत्मीयता र सौहार्दको पर्व मानिन्छ । तीजलाई सबै महिलाले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गरेर मनाउन आवश्यक रहेको महसुस सबैले गर्नुपर्छ ।

‘तीजमा विवाह गरेर टाढा–टाढा पुगेका चेलीहरू जम्मा भएर साथीसंगीसँग गरिने व्यवहार आत्मीयताको नमूना हो,’ अधिकारकर्मी निर्मला कडायत भन्छिन्, ‘अब महिलाका पीडा, वेदनाका कुराभन्दा अवसर र समानताका कुरामा ध्यान दिनुपर्छ ।’ यसवर्षकाे तीज भदाै १४ गते परेकाे छ ।

प्रतिक्रिया दिनुहोस्