बुटवल । बुटवलस्थित चौराहा–गोलपार्क सडक निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई चोख्याउने प्रपञ्च भएको छ । ३० महिनामा सक्ने गरी निर्माणको ठेक्का लिएको कञ्चनजगा जेभी निर्माण सेवाले ६ वर्ष पुग्दासमेत काम सकेको छैन ।
समयमा सडक निर्माण नहुँदा स्थानीयबासी, व्यवसायी, सवारी चालकहरूले दुःख पाइरहेका छन् । समयमा सडक निर्माणबारे सडक विभाग र आयोजनाले नै चासो नदिएपछि बुटवल उपमहानगरपालिकाले निरन्तर सरोकारवालालाई राखेर छलफल चलाइरहेको छ । तर, ठेकेदारले काममा तीव्रता दिएको छैन ।
सडक निर्माणको विषयमा बुटवल उपमहानगरपालिकामा शनिबार भएको छलफलमा मेयर खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडकखण्डको काममा ठेकेदारको संरक्षण गर्दै म्याद थप्ने काम भए आफू सडकमै आमरण अनशन बस्ने घोषणा गरेका छन् । उपमहानगरको कार्यालयमा सडक निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठ, आयोजना प्रमुख दीपक झा, सञ्चारकर्मीसहितको टोलीसँग छलफल गर्ने क्रममा मेयर पाण्डेयले ठेकेदारको संरक्षणमा विभाग लागेमा आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।
उनले निर्माण व्यवसायीले समयमा सडक निर्माणको काम नगर्दा विभागले चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको आरोप पनि लगाए ।
छलफलमा सहभागी सञ्चारकर्मीहरूले पनि पटक–पटक म्याद थप गर्दा पनि काम नगरेका ठेकदारलाई अब म्याद थप गर्नुुभन्दा कानुनी कारबाही गनुपर्ने सुझाव दिएका थिए । तर, सडक विभागका उपनिर्देशक दीपक श्रेष्ठले घुमाउरो पारामा हालकै निर्माण कम्पनीलाई केही समय दिएर काम लगाउनुपर्ने बताएका थिए ।
बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गर्दै बुटवलबासीको आक्रोश बढ्दै गएको र म्याद थप भए जे पनि हुनसक्ने समेत छलफलमा कुरा उठेको थियो ।
सडक विभागका उपमहानिर्देशक श्रेष्ठले विभागले निर्माण कम्पनीले समयसीमाभित्र काम नसके कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ठेकेदार कम्पनीको कमजोरी रहेको स्वीकार गर्दै श्रेष्ठले संशोधित खरिद ऐनले सिधै कारबाही गर्न बाधा पारेको बताए । उनले निर्माण कम्पनीलाई समयसीमाभित्र काम पूरा नगरेकामा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकिएको जानकारी दिए । यद्यपि, उनले पटक–पटक ऐनको कुरा उठाएर म्याद थप्ने संकेत गरेका थिए ।
कार्यक्रममा उपस्थित निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौभित्र सडकको मुख्य समस्या समाधान गर्ने गरी काम अघि बढाएको दाबी गरे ।
नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले दुई हप्ता अगाडि ठेकदारसँग भएको सहमतिअनुसार पनि कामको प्रगति नभएको जानकारी दिएका थिए ।
छलफलमा सहभागीहरूले पटक–पटक कागज गरे पनि काम सम्पन्न नगरेकाले कानुनबमोजिम कारबाही गरी ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने सुझाव दिएका थिए ।