राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि मत मागेर विजयी भएको एमालेले पाँच वर्षका लागि प्राप्त जनमत चार वर्ष पनि टिकाएन । उल्टै पार्टी विभाजित भएर थप कमजोर अवस्थामा निर्वाचनमा जानुपर्ने परिस्थिति सिर्जना गर्याे ।
यस्तो परिस्थितिमा एमाले फेरि निर्वाचनमा जाँदैछ । पाँच वर्षअघि एमालेको जुन नेतृत्व थियो, अहिले पनि उही छ । यस्तो अवस्थामा अब केका लागि जनतासँग मत माग्ने ? अहिले एमालेसामु यही यक्षप्रश्न खडा छ ।
एमाले र उसको नेतृत्वसँग यसको वस्तुनिष्ठ उत्तर छैन । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओली यो प्रश्नको उत्तरका लागि दिनहुँ मिडिया ट्रायल गरिरहेका छन् ।
यस क्रममा सत्तारूढ गठबन्धनले देश बर्बाद पारेकाले एमालेका लागि होइन, देशका लागि एमालेलाई मत दिनुपर्ने तर्क गरिरहेका छन् । तर, जनता उनको यो तर्कलाई सजिलै पत्याइहाल्ने अवस्थामा छैनन् ।
जनता ओलीलाई सोधिरहेका छन्– आखिर यो गठबन्धन सरकार कसका कारणले बनेको हो ? पाँच वर्षका लागि दिइएको जनमतलाई बीचैमा तुहाउने नालायक पात्र को हो ? ओलीले यसका लागि देशी–विदेशी शक्तिलाई देखाएर फत्तो तापिरहेका छन् । तर, जनता उनको यो सदाबहार बनावटी कारण पत्याइरहेका छैनन् ।
एकातिर अंकगणितले प्रचण्ड बहुमतको सत्तारूढ गठबन्धन छ । बाँकी पार्टीहरू जोडेर विरोधी गठबन्धन बनाउँदा पनि त्यो पार लगाउने खालको बन्ने छैन । अर्कोतिर, पाँच वर्षअघि नै पाएर बीचैमा तुहाइएको बहुमत फेरि माग्ने ओलीसँग नैतिक धरातल पनि छैन, त्यसका लागि विश्वसनीय निर्वाचन मुद्दा पनि छैन ।
तर, यही बेला यस्तो अवस्थामा पुगेका ओलीसँग पार्टी जीवनको उत्तराद्र्धमा एमालेलाई जिताएर विश्राम लिनुपर्ने चर्को प्रतिष्ठाको विषय पनि छ । त्यसो नहुँदा नेकपा र एमाले फुटाएर नेपालको वामपन्थी आन्दोलनलाई रसातलमा पुर्याउने खलनायकका रूपमा इतिहासमा दर्ता हुने निश्चित छ ।
यसरी चौतर्फी दबाबमा परेका ओली एक किसिमले विक्षिप्तजस्तै छन् । उनका पछिल्ला गतिविधिलाई हेर्दा त्यसैको छनक मिल्छ । साँच्चै भन्ने हो भने उनी सम्भावित हारको भयले कापिरहेका छन् । अब उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्थामा पुगेका छन् ।
यी सबैखाले प्रतिकूलताले अब ओलीले वामपन्थीबाट दक्षिणपन्थी युटर्न लिने सम्भावना बढ्दो छ । सत्ताका लागि जे पनि गर्न तयार ओली अब हिन्दू राष्ट्रको कार्ड लिएर निर्वाचनमा आउन सक्छन् ।
यसका लागि उनले केही वर्ष पहिलेदेखि नै आधार पनि बनाउँदै आएका छन् । पछिल्लो समय उनले एमाले र यसको ठूलो पार्टीपंक्तिलाई राष्ट्रवादको रामनामी ओढाएर हिन्दू धर्मको अनुयायी बनाइसकेका छन् ।
यस क्रममा ओलीले चितवनको ठोरी नै रामजन्मभूमि अयोध्या भएको दाबी गरेर त्यतै कतै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति पनि प्रतिस्थापन गराइसकेका छन् । उनी प्रधानमन्त्री हुँदा आफ्नै पैसामा ती मूर्तिहरू बनाउन लगाई बालुवाटारमै प्राण प्रतिस्थापन गराएर हस्तान्तरण गरेका थिए ।
नामले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी) अनि पार्टी झण्डामा हँसिया हथौँडा राखेको कम्युनिष्ट पार्टीका अध्यक्षले गरेको यो धार्मिक कार्यलाई कुनै पनि अर्थमा वामपन्थी आवरण दिन सकिँदैन । तर, ओली यसलाई इतिहासको बर्को ओढाएर अझै पनि आफू कम्युनिष्ट भएको भ्रम छरिरहेकै छन् ।
यही बीचमा ओलीले पशुपतिमा सुनको जलारी चढाउने अर्को धर्मभीरू कर्मकाण्ड रचे । उनले मुलुक कोरोना कहरमा डुबेको बेला करोडौंको सुन किनेर पशुपतिमा जलारी चढाउने उर्दी जारी गरे । यही क्रममा उनका अनुयायीले सुनमा पनि करोडौंको घोटाला गरे । अहिले उनी बेला बेला पशुपतिको आरतिमा सहभागी पनि हुन थालेका छन् ।
ओलीको धर्मभीरू कर्मकाण्ड यतिमा मात्र सीमित छैन । उनले हिन्दू राष्ट्र नै मूल एजेण्डा बनाएका कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सूर्य चिह्न दिएर गत स्थानीय निर्वाचनमा सहकार्य गरे । अहिले उनी हिन्दूवादी मात्र होइन, राजावादीसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्वाचन गठबन्धन बनाउन लागिपरेका छन् ।
यी तमाम क्रियाकलापले कुनै समयका अतिवादी वामपन्थी ओली अहिले आएर अतिवादी दक्षिणपन्थी कित्तामा पुगेको देखिँदैछ । यस सन्दर्भमा महान ग्रीक दार्शनिक अरिस्टोटलको एउटा भनाइ स्मरण गर्न सकिन्छ । उनले भनेका छन्– ‘अतिवाद जहिले पनि छेउमा हुन्छ, उसका लागि बीचमा ठाउँ नै हँुदैन ।’
ओलीको यो विचलन त्यसैको जल्दोबल्दो दृष्टान्त हो । यी सबै पृष्ठभूमिमा ओली अब हिन्दू राष्ट्रको निर्वाचन कार्ड लिएर मैदानमा आउने छन् । यो कार्डले उनलाई धेरै कोणबाट फाइदा पुग्छ ।
पहिलो, नेपालमा बहुसंख्यक हिन्दू छन् र उनीहरूको मनमा कतै न कतै नेपाल हिन्दू राष्ट्र भइदिए हुने थियो भन्ने लागेको छ । राजनीतिमा धर्मको डाइनामिक्स सधैंभरी संवेदनशील हुन्छ । यो सबै बुझेका वाचाल ओली यही धार्मिक भावनाको झिल्कोमा आगो सल्काएर निर्वाचन बैतरणी तर्न चाहन्छन् ।
दोस्रो, नेपालमा सत्तामा पुग्न दक्षिणका इष्टदेवतालाई सधैँभरि दाहिना राख्नुपर्छ । अहिले दक्षिणमा हिन्दूवादी भारतीय जनता पार्टी सत्तामा छ र त्यसका मुखिया मोदी नेपाल हिन्दू राष्ट्र भएको देख्न चाहन्छन् । त्यस शर्तमा उनी नेपालमा जुनसुकै पार्टीलाई पनि आशीर्वाद दिन तयार छन् । ओली यो चालका बारेमा जानकार छन् । त्यसैले उनी दक्षिणी इष्टदेवतालाई दाहिना बनाउन पनि हिन्दू कार्ड खेल्न तयार छन् ।
तेस्रो, हिन्दू राष्ट्रको एजेण्डा लिएपछि एमालेले यो वा त्यो नामका सारा राजावादीसँग गठबन्धन पनि गर्न सक्छ । र, ‘राजा आउ, देश बचाउ’ भन्नेहरूको व्यक्तिगत समर्थन पनि प्राप्त गर्न सक्छ । यसो गर्दा एमालेले थप भोट बैंकको जोहो गर्छ र उसको निर्वाचन डुंगा पार लाग्न सक्छ ।
चौथो, ओली धर्मभीरू हुँदै गएका छन् । उनको यो विचलनले उनमा धर्मप्रति अगाध श्रद्धा पैदा हुँदै गएको छ भने दैवीशक्तिप्रति पनि ठूलो विश्वास जागृत हुन थालेको छ ।
हिन्दू राष्ट्रको एजेण्डा लिएपछि श्रीपशुपतिनाथले उनको निर्वाचन मनोकांक्षा पूरा गरिदिने विश्वास पनि उनमा पलाएको हुन सक्छ । उनले जनतालाई भनिदिन सक्छन्– मलाई भगवाले यसपटक जीतको वरदान दिएका छन् । यसरी उनले जनतामा एक किसिमको भ्रम पनि छर्न सक्छन् ।
हिन्दू कार्ड ओलीका लागि वरदान र अभिषाप हुने दुबै हुने सम्भावना रहन्छ । यसले उनलाई तात्कालीन रूपमा निर्वाचनमा केही फाइदा गरे पनि अन्ततः उनको वामपन्थी राजनीतिको भने नराम्ररी अवसान हुन्छ । यो उनका लागि मात्र हैन, एमाले पार्टीको जीवनमा पनि एक अभिषापपूर्ण निर्णय हुने छ ।
एमाले भित्रको ठूलो वामपन्थी तप्काकै विरोधको सामना ओलीले गर्नुपर्ने छ । त्यसैले ओलीका लागि यो निर्णय जति सकसपूर्ण छ, त्यति नै चुनौतिले भरिएको पनि छ ।
तर, ओली दुस्साहसका पर्यायवाची हुन् । उनको राजनीतिक जीवन यस्तै दुस्साहसको ग्राफ भएर यहाँसम्म आइपुगेको हो । आफ्नो निर्णयको बचाउका लागि हजार झुटको सहारा लिन पनि पछि नपर्ने ओलीले यसका लागि पनि त्यस्ता कुतर्कहरूको जोहो गरिसकेका होलान् । यसबिचमा उनले त्यस्ता केही कुतर्कहरूको मिडिया ट्रायल पनि गरिसकेका छन् ।
नेपालका राजनीतिक शक्ति, मिडिया र आमजनताले के बुझ्न जरूरी छ भने ओलीको यो कदम अन्तरघाती मात्र हुने छैन, नेपाल र नेपालको कलिलो लोकतन्त्रका लागि त्यति नै मात्रामा हानिकारक पनि हुने छ ।
वामपन्थी ओलीभन्दा दक्षिणपन्थी ओली हजारौ गुणा खराब हुने निश्चित छ । कारण प्रष्ट छ, उनी राजनीतिक जीवनको उत्तराछद्र्धमा छन् र यो सम्भावित कदमपछि उनी मूल्य, मान्यता, सिद्धान्त सबैबाट स्खलित पनि भइसकेका हुनेछन् ।
त्यस्तो अवस्थामा उनले के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्था सिर्जना हुन्छ, के भन्छन् भन्दा पनि के भन्दैनन् भन्ने परिस्थिति सिर्जना हुन्छ ।
एउटा राजनीतिक नेता र ऊ नै सर्वेसवा भएको पार्टी जब सम्भावित हारको मानसिकताबाट विक्षिप्त भएर सबै कुरा गर्न तयार हुन्छ, त्यस्तो अवस्थामा देश, प्रणाली र जनताले पनि हानी व्यहोर्नुपर्ने हुन्छ । विश्वको इतिहासमा यस्ता एक हैन, अनेकौ उदाहरण पाइन्छन् ।
त्यसैले यो निर्वाचनलाई जनमत प्रकट गर्ने एक प्रजातान्त्रिक परिघटनाका रूपमा अभ्यास गर्न देशका सबै जिम्मेवार राजनीतिक दल, मिडिया, नागरिक समाज र अन्ततः जनताको अहम् भूमिका हुन्छ । यो भूमिकाबाट विमुख हुने अधिकार कसैलाई पनि छैन ।
यसका लागि ओली प्रवृतिलाई कुनै पनि अर्थमा परास्त गर्न जरूरी छ । यो प्रवृति परास्त हुँदा सबैभन्दा बढी जित्ने भनेको एमालेले हो । अहिले एमाले बामाले भएर सबैभन्दा बढी हारेको छ । अर्थात् बामाले फेरि एमाले बन्न ओली र ओली प्रवृतिको शर्मनाक हार आवश्यक छ ।
त्यसो भयो भने एमाले फेरि जितेर वामपन्थी मूल्य, मान्यता र सिद्धान्तको सही राजनीतिक लिकमा आउँछ । नेपाल र नेपालको लोकतान्त्रिकरणमा अहम भुमिका भएको एमाले त्यो लिकमा आउन जरूरी छ ।
यति हुँदाहुँदै पनि सत्य के हो भने यो वा त्यो जुन कोणबाट भए पनि ओली नै आसन्न निर्वाचनको केन्द्रमा हुनेछन् । उनले जित्नका लागि अनेक हत्कण्डा प्रयोग गर्नेछन् ।
त्यसबाट सिंगो जनमत ठाडो चिरामा ध्रुवीकरण हुनसक्छ जुन देशका लागि हानिकारक छ । त्यसैले पनि आउने निर्वाचनसम्म देशका सबै जिम्मेवार राजनीतिक दल, मिडिया, नागरिक समाज सचेत भएर तमाम ओली हत्कण्डाहरूलाई संयमतापूर्वक निस्तेज पार्न जरूरी छ ।
त्यसका लागि उनका क्रियामा प्रतिक्रिया गर्ने मात्र हैन, आफूले क्रिया गरेर उनलाई प्रतिक्रिया दिन बाध्य बनाउने रणनीति अख्तियार गर्न जरूरी छ ।
अन्यथा, मुलुक दक्षिणपन्थी भासमा परेर अर्को प्रतिगमनको नजिक पुग्न सक्छ । अहिले ओली नै दक्षिणपन्थी प्रतिगमनका मोहोरा हुन्, सम्बन्धित सबैको बेलैमा होश खुल्न जरूरी छ ।