Logo
Logo

गृहमन्त्रीको सचिवालय मानव तस्करको अखडा


325.1k
Shares

काठमाडौं । प्रहरीको सरुवा–बढुवासम्बन्धी आर्थिक चलखेलले विवादमा मुछिएका गृहमन्त्री बालकृष्ण खाणको सचिवालय थप बदनाम हुँदै गएको छ । सचिवालयका मन्त्रीनिकट कर्मचारीहरू मन्त्रीलाई थाहै नदिइ अपराधिक व्यक्तिलाई जोगाउने धन्दामा सक्रियताका साथ लागेको समाचार स्रोतको भनाइ छ ।

वरिष्ठ सई टंक कार्की र स्वकीय सचिव नरेन्द्र केसी

सुन तस्करीदेखि मानवतस्करीसम्मका व्यक्तिलाई जोगाउन सचिवालयकै व्यक्तिहरु लागेपछि प्रहरी पनि हैरान भएको छ । गृहमन्त्रीका व्यक्तिगत सुरक्षा अधिकारी(पिएसओ) वरिष्ठ सई टंक कार्की हालै सुन तस्करीसम्बन्धि विवादमा मुछिएका छन् भने उनका स्वकीय सचिव नरेन्द्र केसी मानव बेचबिखनमा संलग्न घटना आरोप जोगाउन लागेका छन् ।

तस्करीको सुनसम्बन्धि विवादमा सई कार्कीले एक पक्ष लिएर सुन लुकाउने चितवनका एक व्यक्तिलाई थुनाउन लगाएका हुन् । दुबईबाट फर्किएका पाँच युवकले नियमअनुसार ५० ग्रामका दरले सुन ल्याएका थिए । उनीहरुमध्ये चार जनालाई विमानस्थलबाट आफ्नो गाडीमा राखी उनले उनीहरुसँग भएको सुन आफुले राखेका थिए । कामदारमार्फत सुन ल्याउने गिरोहले सई कार्कीमार्फत थुन्न लगाई चार लाख नगद र चार लाख रुपैयाँको चेक लिएको थियो ।

समाचार स्रोतका अनुसार सोही विषयमा सई कार्कीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको हो । सई कार्कीले सहयोग गर्न खोजेको देखिएपनि त्यो समूह कामदार प्रयोग गरी दुबईबाट सुन तस्करी गर्दै आएको समूह भएको खुलेको छ । जसअनुसार प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन थालेको छ । समाचार स्रोतका अनुसार स्वकीय सचिव नरेन्द्र केसीले धर्मपुत्रीका रुपमा मानव तस्करी गर्ने समूह लगाउन लागिपरेका छन् ।

शनिबार जाजरकोटकी एक १४ वर्षीया बालिकालाई बेलायती दम्पत्तिले अवैध रुपमा स्वीजरल्याण्ड लैजान खोजेका थिए । तर, अध्यागमनले रोकेर उनीहरुलाई प्रहरीमा बुझाएको थियो । प्रहरीले आइतबार अभद्र व्यवहारसम्बन्धि कसुरमा उनीहरुलाई म्याद थप गरेको छ । तर, आइतबार नै ती दम्पतीलाई छुटाउन केसीले विभिन्न निकायमा फोन गरी दबाब दिएका थिए । काठमाडौंका सिडिओ गोविन्द रिजाललाई फोन गरी म्याद नै नथप्न दबाब दिएका थिए । दबाबकै कारण सिडिओ रिजालले दुई दिनको मात्र म्याद दिएको स्रोत बताउँछ ।

नेपालमा धर्मपुत्रपुत्री बनाएर विदेश लैजान प्रतिबन्ध छ । जसकारण यो मानव बेचबिखन भएको प्रष्ट हुँदा पनि उनकै चलखेलका कारण प्रहरीले त्यसतर्फ आँट गरेको छैन । स्रोतका अनुसारमा काठमाडौंमा अनाथालय चलाएर बालबालिका तस्करी गर्ने गिरोह यसमा सक्रिय छ ।

धर्मपुत्रपुत्री बनाएर लैजान बन्द गरेपछि सो गिरोहले बिद्यालयमा पढाउने नाममा यूरोपियन देशमा बालबालिकाको तस्करी गर्दै आएको छ । विगतमा पनि पक्राउ परेका जोन खड्का नामक व्यक्ति यसको पर्दापछाडी छन् । पक्राउ परेका म्याथु हर्लीले यूरोपमा यससम्बन्धि सेटिङ मिलाउँदै आएका छन् । यही कामका लागि उनी वर्षमै २–३ पटक नेपाल आउने गरेका छन् ।

मानव बेचबिखनमा अनुसन्धान हुँदा ठूलो गिरोह फन्दामा पर्ने भएकाले मन्त्रीनिकट व्यक्तिहरूलाई जोगाउन सक्रिय भएको हो । स्रोतका अनुसार उनीहलाई विमानस्थलबाट जान दिन पनि गृहकै एक कर्मचारी विमानस्थल पुगेका थिए । सो गिरोहले गृहमन्त्रीका स्वकिय सचिवलाई नै प्रभावमा पार्न सफल भएको छ । यी घटनाले गृहमन्त्रीकै सचिवालय अवैध धन्दाको अखडा बन्दै गएको प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्