Logo
Logo

जबरजस्ती एक्लिएको एमालेले ‘पार्टनर’ खोज्दै


4.8k
Shares

काठमाडौं । आमागी मंसिरमा हुने निर्वाचनमा नेकपा एमालेले आफ्नो मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।’

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि सहमति जुटाउने प्रयास गरिरहँदा एमाले पनि ‘पार्टनर’ खोज्न थालेको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भदौ नौ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलले पनि सिट बाँडफाँडको विभिन्न मोडालिटीबारे छलफल गरिरहेको छ ।

१६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल मिलाएको खण्डमा गत प्रतिनिधि सभा निर्वाचनमा ठूलो बनेको दल एमाले यसपटक कमजोर हुने देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामहरुले पनि त्यसलाई नै देखाइरहेको छ ।

तर एमाले अध्यक्ष केपी शर्मा ओली भने गठबन्धन भएपनि आफूहरुलाई पराजित गर्न नसक्ने जसरी प्रस्तुत भइरहेका छन् । तर गठबन्धनलाई परास्त गर्न एमालेले निर्वाचन जित्न जुनै पार्टीसँग पनि तालमेल गर्ने रणनीति बनाएको थालेको हो ।

त्यसोत निर्वाचन आउँन तीन महिना छ । यबीचमा देशको राजनीति कता जान्छ भन्न सकिने अवस्था छैन । कुन दलको कुन दलसँग तालमेल हुन्छ र कसेले कहाँ जित्छ भन्ने फैसला जनताको हातमा छ । त्यसैले यस्तै हुन्छ भन्न नसके पनि पछिल्लो अवस्था एमालेलाई सहज भने देखिएको छैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलसँग तालमेल गर्दा त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्ने छ । आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र थियो । तर गठबन्धन भत्काउन नसक्ने भएपछि एमालेले निर्वाचनको लागि ‘पार्टनर’ खोज्न थालेको हो ।

एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरेको थियो । तर उक्त सम्भावना पनि लगभग सकिएको छ । लोसपा पनि सरकारमा आउने र सत्ता गठबन्धनमै आउने प्रयासमा छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको थियो । तर कमल थापाको दलको मत खासै देखिएन । राप्रपाबाट विभाजित भएर बनेको राप्रपा नेपालसँग तालमेल गरेपछि राप्रपा एमालेसँग रिसाएको छ ।

कसैको साथ नपाएर एक्लिएको एमाले अहिले गठबन्धनसँग एक्लै लड्न आफूहरु तयार रहेको जित्ने दाबी गरिरहेको छ । फिल्ममा ब्रुस्लीले पहिला कुटाइ खाए पनि पछि खेलमा फर्किएको जस्तो एमाले पनि निर्वाचनमा जित्ने अध्यक्ष ओलीले दाबी गरिरहेका छन् ।

ओलीले सार्वजनिक कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताको मनोबल बढाउन भन्ने गरेका छन्– ‘ब्रुस्लीसँग कहिले, कहिले मोटा–मोटा, अग्ला–अग्लाहरूले खेलेको देख्नुभएको छ ? त्यो रिङमा खेलेको देख्नुभएको होला नि ब्रुस्लीसँग ? ब्रुस्लीलाई हान्छन्, यता हान्छन्, उता हान्छन्, कहिले पछार्छन्, कहिले के गर्छन्, रगतपक्ष पार्छन् । ठ्याक्क चाहिएका बेला ब्रुस्लीले थपक्क उठाउँछ, फनन्न घुमाउँछ । उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई, हामीले पनि चाहिएका बेला उत्तानो पारेर पछारेर अम्पायर (निर्वाचन आयोग) लाई भन्ने हो– ल तीन पटक ढ्यापढ्याप पार ।’

ओलीले भनेजस्तो एमाले ‘ब्रुस्ली’ बन्न सक्छ कि सक्दैन त्यो भने निर्वाचन नतिजाले नै देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्