Logo
Logo

बस्तीपुरवासीको गुनासो : प्रदीप गिरीलाई श्रद्धाञ्जली अर्पण गर्न पाइएन


2k
Shares

इनरुवा । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो ।

उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरिको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरिको संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उनले इच्छा व्यक्त गरेका थिए । आफ्ना प्रिय नेता गिरीलाई श्रद्धाञ्जली दिनबाट वञ्चित हुनुपरेको बस्तीपुरवासीको गुनासो छ ।

गिरीको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौँबाट उनको पार्थिव शरीर नआएपछि बस्तीपुरका स्थानीय निराश भएका थिए ।

शुभेच्छुक तथा नेताकार्यकर्ताहरूको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर सयौँ स्थानीयवासी सो अवसरबाट वञ्चित भएको आश्रममा बस्दै आएका दीप परियारले बताए । उनले भने, ‘गिरीले आफ्नो मृत्यु भएपछि संस्कार आश्रममै गर्नुहोला भन्नुभएका थियो । सोहीअनुसार हामीले उहाँको शव गाउँमा ल्याउन आग्रह गरेका थियौँ तर त्यसो भएन ।’

बस्तीपुर र समाज निर्माणमा प्रदीप दाइको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरुप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुःखित भएको स्थानीयवासी चलितर साहले बताए । शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरी पुर्खाैली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आएका थिए । प्रदीप दाइले आफ्नो संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गरेको स्थानीय रामकृष्ण चौधरीले बताए । उनका अनुसार प्रिय नेता गिरीको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन् । अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरूलाई झनै दुःख लागेको चौधरीको भनाइ छ ।

आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहययोग एवं सद्भाव बाँडेका नेता गिरीको निधनका कारण गाउँ शोकाकुल छ । विसं २००४ मा जन्मिएका गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । आफूहरूले मत दिएर जिताएका अभिभावक गिरिको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयवासीले गाउँमा भजन कीर्तन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्