Logo
Logo

सप्तरीमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी


567
Shares

सप्तरी । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो ।

कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले जारी गरेको सूचनामा मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो ।

देशैभरी मिटर ब्याजको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा भुसालले बताए । सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट एक सय १४ उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए । सप्तरीसहित देशैभरी मिटर ब्याजीपीडितहरू दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्