Logo
Logo

वालिङमा टेलिकमको ‘फाइबर टु द होम’ सेवा


378
Shares

स्याङजा । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ ।

टेलिकमको वालिङ शाखाले साउन २० देखि उक्त सेवा थालेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका तामाका तारलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए ।

भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरिसक्ने उनले बताए । दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने विषयमा पनि काम भइरहेको उनले बताए । तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेपछि ‘एफटिटिएच’ सेवा ल्याएको हो ।

‘भ्वाइस, डाटा तथा टिभी सस्तो मूल्यमा एउटै फाइबरमार्फत उपलब्ध हुने भएपछि सेवा प्रयोग गर्नका लागि माग गर्ने सेवाग्राही बढ्दै छन्,’ उनले भने, ‘सरकारी कम्पनी, सस्तो भरपर्दो सेवा सुविधाकै कारण ‘एफटिटिएच’ सेवाप्रति आकर्षण बढ्दै गएको हो ।’

‘एफटिटिएच’ सेवा जडानका लागि कार्यालयले सामान्यदेखि तीव्र गतिको इन्टरनेट सेवा, ३ सय मिनेट निःशुल्क टेलिफोन सेवा, जडानमा सय मिटर ड्रप फाइबर निःशुल्क, सिपिई (राउटर) निःशुल्कजस्ता विभिन्न प्याकेज अगाडि सारेको छ ।

शाखाले वालिङ नगरपालिकाका विभिन्न बजारसहित दक्षिण स्याङ्जाको चापाकोट नगरपालिका र दक्षिण पर्वतको हातेमालो चोकमा सो सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्