Logo
Logo

लोकतन्त्र र प्रेस स्वतन्त्रता रक्षाका लागि एकजुट हुन आग्रह


1.1k
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाको लागि एकजुट हुन आग्रह गरेको छ ।

आफ्नो पहिलो स्थापना दिवसका अवसरमा संगठनका अध्यक्ष शम्भु श्रेष्ठद्धारा बिहीबार विज्ञप्ति जारी गर्दै प्रगतिशील र लोकतन्त्रवादी पत्रकार संगठनबीच सहकार्यको खाँचो औंल्याएको हो । संगठनले शुक्रबार पहिलो स्थपना दिवश मनाउँदै छ ।

‘ठाउँका ठाउँ ऐया, आच्छु’ पनि भन्न नपाउँदै प्रतिगामी तथा पुनउत्थानवादी गठबन्धनलाई परास्त गर्न श्रेष्ठले अपिलसमेत गरेका छन् ।

‘कुनै पनि संगठनको जन्म हुनुका पछाडि त्यसको उद्देश्य, लक्ष्य, सिद्धान्त र विचार स्पष्ट हुनुपर्छ । समाजवादी प्रेस संगठनको जन्म प्रतिगामी कदमको विरुद्ध भएको हो,’ विज्ञप्तिमा भनिएको छ । ‘त्यो कदम असंवैधानिक मात्र थिएन, वर्तमान संविधान र त्यसको भावनामाथि कुल्चिएर संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था समाप्त पार्नु थियो,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘त्यो उद्देश्य पूरा गर्न ओलीले २ पटक प्रतिनिधिसभा विघटन गरे । सञ्चारमाध्यमहरुले प्रतिगमनका विरुद्ध ठूलो जनमत निर्माण गर्ने काम गरे । जसका कारण प्रतिगामी तत्व पराजित भयो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ पुस ५ मा दुईतिहाइको प्रतिनिधिसभा भंग गरे । उक्त प्रतिगामी कदमविरुद्ध आन्दोलनरत प्रगतिशील श्रमजीवी पत्रकार समाजवादी प्रेस संगठनमा आबद्ध भएका छन् । प्रगतिशील र लोकतन्त्रवादी पत्रकार संगठनको काँधमा आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रतिगामी तथा पुनउत्थानवादी गठबन्धनलाई पराजित गर्नुपर्ने दायित्व रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

संगठन निर्माण भएको १ वर्षभित्र ७७ वटै जिल्ला तथा सातै प्रदेशमा संगठन विस्तार गर्न सफल भएको श्रेष्ठले बताएका छन् । संगठनले कात्तिक २७ गते केन्द्रीय पदाधिकारी घोषणा गरेको थियो ।

चैत १२ र १३ मा केन्द्रीय कमिटीको विस्तारित भेला गरेको थियो । प्रथम राष्ट्रिय अधिवेशनका लागि संगठन ७ वटै प्रदेशको भेला सम्पन्न गर्ने र प्रतिनिधि चयनको प्रक्रियामा रहेको छ ।

लोकतन्त्र स्थापनाको आन्दोलनका क्रममा बलिदान दिएका श्रमजीवी पत्रकारको परिवारलाई उचित सम्मान दिन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्