शम्भु श्रेष्ठ
कमरेड योगेश भट्टराई,
‘तपाईंलाई बधाई छ । तपाईंले आजसम्म लिएका हरेक जिम्मेवारी जुन शानका साथ पूरा गर्नुभएको छ, यो जिम्मेवारी पनि त्यही योग्यताका साथ सम्पन्न गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । राजनीतिमा हामी आफैँले बनाएका र कबुलेका मूल्यहरुले हामीलाई यहाँसम्म टिकाएका छन्, हामी र हाम्रो पार्टीमाथि जनताको ठूलो आशा र भरोसा छ र, हामी जानुपर्ने टाढा छ ।’
योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएपछि उनका सहयोद्धा कमरेड घनश्याम भुसालले सामाजिक सञ्जालमा बधाई दिँदै छोटो शब्द कोरे । भुसालको यो बधाई सन्देशले धेरै कुरा बोलेको छ । विद्यार्थीकालदेखि अहिलेसम्म निष्कलंक, स्वच्छ छवि भएका निर्भिक व्यक्ति मन्त्री भएपछि अरु मन्त्रीझै रुझेर फर्कने हुन् कि भन्ने चिन्ता भुसालको बधाई सन्देशले बोकेको छ । नेकपाभित्रै पनि स्वच्छ छवि र इमान्दार कार्यकर्ता खोज्नुपर्ने बेलामा भट्टराईको सफलता असफलतासँग उनको व्यक्तिगत जीवनमात्रै जोडिएको छैन, सिंगो कम्युनिष्ट आन्दोलनको भविष्य पनि जोडिनेछ ।
‘हामीले आफैँले बनाएका र कबुलेका मूल्यहरुले हामीलाई यहाँसम्म टिकाएका छन् ।’ भुसालको यो शब्द कम्युनिष्ट चरित्र, संस्कृति र आन्दोलनसँग जोडिएका छन् । हिजो हामी किन कम्युनिष्ट भयौँ भन्ने प्रश्न आफैँभित्र खोज्नुपर्ने चरित्र आजका कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारले निर्माण गरेको बेला, त्यो भन्दा पृथक रहेर भट्टराईले आफूलाई जोगाउन सक्छन् कि सक्दैनन् भन्ने भुसालको चिन्ता हो । भट्टराई एक जना पात्र मात्र हुन् । मन्त्रीको भीडमा उनी हराउँदै गए भने कम्युनिष्ट आन्दोलनले पक्कै पनि उनलाई खोज्ने छैन । तर, त्यो भित्रबाट उदाहरणीय नेताका रुपमा उनी बाहिरिए भने पक्कै पनि भुसालले भनेभै ‘हामी धेरै टाढा, टाढा सँगै जानु पर्नेछ ।’ अहिले हामी उभिएको जग हामी आफैँले वर्षौ लगाएर निर्माण गरेका हौँ । त्यहाँबाट अझै टाढाको यात्रा हामीले कोर्नुपर्ने छ । त्यो यात्रा, सहयात्रा इमान्दार कार्यकर्ताको सहयोगबिना असम्भव छ । सुन्दर जीवनको सपना देखेर कम्युनिष्ट आन्दोलनमा होमिएका लाखौँ कार्यकर्ताको आशा र भरोसा नै हाम्रो जिम्मेवारी हो ।
नेकपाको दुईतिहाइको सरकार, संविधानमा उल्लेख गरिएका समाजवाद शब्दले मात्रै हामी लक्ष्यमा पुग्न सक्दैनौं । समाजवादको लक्ष्यसम्म पुग्न हामीले स्पष्ट दर्शन बोक्नैपर्छ । ‘ताक परे तिवारी नत्र गोतामे’ को तालले हामी एक पटक त मन्त्री बनौला, त्यसपछि हामीलाई न त जनताले सम्झन्छन्, न त इतिहासले नै । इतिहासले सम्झनको लागि कुनै मन्त्री पदको आवश्यकता पर्दैन । सामान्य असल जीवन बाँचेकाहरु पनि धेरै उदाहरण हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । सायद, त्यसैले होला, भट्टराईले एक पटक मसँग भनेका थिए ‘असफल सरकारको मन्त्री मैले खान्न ।’ हुन पनि पन्ध्र महिनामा एक जना मन्त्री पनि यस्तो देखिएन, जसलाई जनताले राम्रो काम ग¥यो भनेर स्यावासी दिएको होस् । यो पन्ध्र महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मन्त्रीका कारण आफू असफल भएको कुरा मनमनै सोच्दै होलान् । यस्तो बेला ओलीले मन नपराएका व्यक्तिलाई मन्त्री बनाउन के कुराले बाध्य पा¥यो ? त्यो त ओली स्वयंले बुझ्ने कुरा हो । किनभने रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि ६ महिनासम्म पर्यटनमन्त्रीको जिम्मेवारी स्वयं प्रधानमन्त्री ओलीले सम्हालेका थिए । अहिले बाध्य भएर पर्यटनमन्त्रीको जिम्मेवारी उनै भट्टराईलाई सुम्पिएका छन् । यसको मतलब भट्टराईले राम्रो काम गर्न सक्छन् भन्ने विश्वासले नै हो ।
त्यसैले भट्टराईको काँधमा एउटा मन्त्रालयको जिम्मेवारी थोपरिए पनि सिंगो कम्युनिष्ट आन्दोलनमा उनले पु¥याउन सक्ने योगदानको दियो उनले निभ्न दिनु हुँदैन । त्यसका लागि उनी अरु मन्त्रीभन्दा पृथक हुनैपर्छ । ‘सादा जीवन, उच्च विचार’लाई उनले जीवनशैली बनाउन सके भने भोलिका दिनमा कम्युनिष्ट आन्दोलनले उनलाई थप उचाइमा पु¥याउने छ । भुसालले उनलाई बधाई दिँदा चयन गरेका शब्दलाई उनले आत्मसात गरे भने पक्कै पनि टाढासम्मको यात्रा उनीसँग सहकार्य हुनेछ । त्यही सहकार्यले नै कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याउने विश्वास छ ।
अन्त्यमा, योगेश भट्टराईप्रति मेरो र दृष्टि परिवारको पनि शुभकामना ।