महोत्तरी । बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ ।
भ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि सो सेवा विस्तार गर्न लागेको हो ।
यहाँ सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने, ‘अब अस्पतालमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष सञ्चालन हुनेछ ।’
बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ ५ बर्षे आयोजनामा सम्झौता समेत भएको छ । ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र विस्तारसम्बन्धी १० बुँदे सम्झौता भएको हो ।
सम्झौतापत्रमा नगर प्रमुख क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डा. विराज कर्माचार्यले हस्ताक्षर गरेका छन् ।