खै, म के भनूँ
यति मात्र भनूँ–
निर्लज्जताको निरन्तरता
होइन, पराकाष्ठा नै भयो
‘म कहाँ नाङ्गो छु र ?
म त झन् चिटिक्क परेको छु
दौरा सुरुवाल वा सुटमा
अझ टोपी पनि लगाएकै छु
चपटेले सलुट गरेकै छन्
मेरो दर्शनको लागि लामो कतार
झन् झन् बढेको छ’
यस्तो भन्नेहरूको, हे प्रभु !
खै, ओखती ?
ऐ मुसदण्डहरू ! ऐ उद्दण्डहरू !!
के घाम अँध्यारो हुन्छ ?
या, घाम देख्न बत्ती बाल्नु पर्दछ
दोहोरो नियम शक्ति विनियमको
उदाङ्ग निर्लज्जता
लजाएको नाटक
भजाएको राजनीतिक जिन्दगी
किस्ता किस्तामा मुलुकको संवेदनशीलता बेचेर
समृद्धिको एक तारे गफ
कसको समृद्धि ?
आफ्नो समृद्धिको लागि
गरिएको लुटपाटको घानमा
मुलुकलाई किन हालेको ?
यो त अपराध हो
लुटेर नअघाएको घानीले
लुटको वर्षा गरेर भाग्यो
यी त लुटेर पनि अझै बस्न पाएका छन्
समृद्धिको गफ चुट्ने पेसेवारहरू
ए निर्लज्जहरू, सोच ! अलिकता त सोच
केही पल अझै बाँकी छ ।
– बुधवार, २ भाद्र २०७८