Logo
Logo

रुपन्देहीको विकासमा जनताका माग सम्बोधन हुन्छन् : गृहमन्त्री


1k
Shares

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गाको पुनःमूल्याङ्कन गर्ने र सानो स्मार्ट औद्योगिक क्षेत्रको रुपमा त्यस क्षेत्रको विकास अघि बढाइने बताएका छन् ।

उनले औद्योगिक क्षेत्रको स्वामित्वमा नेपाल सरकारले हस्तान्तरण गरेको जग्गाका कारण त्यस क्षेत्रमा वषौँंदेखि बसोबास गर्दै आएका नागरिक विस्थापित हुने, निर्माण गरिएका भौतिक पूर्वाधार काम नलाग्ने गरी खेर जाने अवस्थासमेत देखिएकाले सानो तर महत्वपूर्ण औद्योगिक क्षेत्र बनाउने बताए ।

गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी र शुद्धोधन गाउँपालिका–३ बेननीस्थित तिनाउ पुलमा निर्माण गरिने पुलको आज शिलन्यास गर्दै विगतमा आफूले सरकारलाई औद्योगिक कोरिडोरको नक्सा जस्ताको तस्तै पास नगर्न र जनताको चाहना सम्बोधन गरेर अघि बढ्न सुझाव दिएको बताए ।

उनले सरकारले नागरिकको पीडालाई सम्बोधन गरेर मात्रै औद्योगिक कोरिडोर निर्माण कार्य अघि बढाइने स्पष्ट पारे । उनले भने, ‘पुर्जा पाएकालाई बसोबासको अधिकार दिने, नपाएकालाई प्रक्रिया पु¥याएर पुर्जा दिने बाँकी जमिनमा मात्र औद्योगिक क्षेत्रको विकास गरिने छ ।’

उनले रुपन्देहीमा तिनाउ र दानव नदी वारपारका नागरिकलाई आवागमनमा भएको विगतका कठिनाइको स्मरण गर्दै अहिले पुल र सडक सञ्जालले रुपन्देहीका ग्रामीण क्षेत्र र बजारलाई सहजै जोडेको बताए । उनले मुलुककै मध्य भागमा रहेको जिल्लामा सडक र पुलको पूर्वाधार विकासले कृषिउपजको बजारीकरणका लागि सहज हुने, उद्योग कलकारखाना खुल्ने र आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने बताए ।

गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका हरित नगरको रुपमा विकास हुँदै गएको बताउँदै यस नगरलाई ग्रिन तिलोत्तमा नगर बनाएर स्वच्छ, हरियाली नगरको रुपमा पर्यटकीय गन्तव्य बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्