Logo
Logo

चर्चामा आउन अश्लीलताको खेती !


1.3k
Shares


हिन्दू धर्मावलम्बी नारीहरूको विषेश पर्व हो, तीज । तीजमा भगवान शिवको आराधना गर्दै दिदीबहिनीहरू माइतीमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गर्छन् ।

लामो समयदेखि माइत जान नपाएका चेलीहरू पनि तीजकै निहुँ पारेर जाने गर्छन् । र, आफ्ना पुराना साथीसंगीसँग भेटघाट गर्ने, दर खाने र आ–आफ्ना वेदना पोख्ने खालका गीत गाउने र नाचगान गरेर मनोरञ्जन गर्ने परम्परा छ ।

तीन आउन अब केही दिनमात्र बाँकी छ । तीज नजिकिएसँगै नानाथरीका तीज गीतहरू बजारमा आइरहेका छन् ।

केही समयअघि सार्वजनिक भएको गीतकार शिव हमालको ‘पापकी परी’ले निकै चर्चा पयो । गीत चर्चामा हुनुको कारण हो, उच्छृंखल । यस्तो छ, उक्त गीतको आलोचित शब्दः

के हुन्छ होला बिहेको राति
अँध्यारो कोठामा अन्जान साथी
सम्झेरै गइसक्यो सातो बरिलै
केही छैन उम्किने बाटो बरिलै

गीत रिलिज भएपछि सामाजिक सञ्जालमा उक्त गीतको निकै आलोचना भयो । गीतमात्रै होइन, दृश्य पनि विवादित बन्यो । यस गीतको भिडियोमा मोडल करिश्मा ढकाल पेटिकोटमा नाचेका छन् ।

पहिले–पहिले तीजमा दुःखका वेदना गाउने परम्परा थियो । दुःख वेदनाका भाव झल्कन्थे । धुरुधुरु रुवाउने खालका हुन्थँे । माइतीको आँगनीमा नाच बरिलै, तीजको रहर आयो बरिलै जस्ता भावनाका गीतहरू तीजमा गाउने चलन थियो ।

खासमा नारीले हर्ष र विस्मात गीतको माध्यमबाट अभिव्यक्त गर्ने पर्व हो, तीज । चेलीको मर्म, सुख–दुःख, खुसी, उमंग र दैनिकीका सास्तीहरू गीतको विषय बन्थ्यो । पहिले तीज गीतमा मेलापात, घाँसदाउरा र घर व्यवहारका विषय हुन्थे ।

तीज गीतमा छाडापन त छँदैछ । महिलालाई होच्याउने, उपहास गर्ने प्रवृत्ति पनि मैलाएको देखिन्छ । अहिलेका गीतमा न तीजको मर्म बोक्ने शब्द छन्, न त प्रस्तुति नै । छिट्टै चर्चामा आउन बदनाम नै भएपनि नाम चम्काउन गलत नियतले तीज गीतको सहारा लिएको पाइन्छ । यसले मौलिकता धरापमा परेको छ ।

तर, अहिले समय फेरिएको छ । समसामयिक विषयवस्तुभन्दा उच्छृंखलता बढी पाइन्छ । अहिले बजारमा आएका गीत परिवारसँग बसेर हेर्न लायक हुँदैनन् । तीजको मर्म पाइँदैन । गीतमा उच्छृंखल र दोहोरो अर्थ लाग्ने शब्दको बढी प्रयोग गरिन्छ, दरमा दारु मिसाएजस्तै ।

रातो सारी पेटीकोट बनिसक्यो । गीतका शब्दहरूमा अश्लीलताले डेरा जमाउन थालिसक्यो । तीजमा अहिले गाइने गीतहरूमा न तीजको मर्म बोक्ने शब्द छन्, न त प्रस्तुति नै । पहिला ज्योती मगरलाई उच्छृंखल गीत गाउनेको ट्याग लगाइएको थियो । तर, अहिले कयौं ज्योतीहरू जन्मिसके ।

गीत, संगीत समाजका प्रतिबिम्ब हुन् । तर, तीजका गीतमा संस्कृतिभन्दा पनि छाडापन मौलाएको छ । ज्योती मगरको ‘दरको साटो रक्सी खाइन्छ’, ‘पिसाब लाग्यो’ कोमल ओलीले ‘पोइला जान पाम’, ‘लास्टै चोटी हो’, शंकर चालिसेको ‘कट्टुमा बुट्टा’, दुर्गेश थापाको ‘बीच बीचमा’ र विष्णु माझीको ‘भिनाजु पल्केर’, ‘घुम्रे जुलफी’, रवि घर्तिमगर र टिका लामिछानेको ‘ठेल न बुढी ठेल’, श्रीदेवी देवकोटा र प्रकाश कटुवालको ‘पिठ्युमा कन्याइदेउ’ र ‘ढाँडे बिरालो’, शान्तिश्री परिवार र रामचन्द्र काफ्लेको ‘हाई डार्लिङ’ ज्योती मगर र सुरेश रानाको ‘घण्टा बजाउँछु’, रेखा जोशीको ‘लाहुरे भेना’ तीज गीतमा छाएको छाडापनको उदाहरण हुन् ।

यी गीतहरूले न नारीको भावना बोलेको पाइन्छ, न दुःखका वेदना । यस्ता गीतहरूले केवल नारीलाई नै उडाएको छ । यस्ता गीतले तीजको महत्वलाई घटाउने काम गरेको छ ।

तीज लक्षित निर्माण गरिएका गीतहरू अहिले परिवारसँग बसेर हेर्न नसक्ने खालका छन् । अश्लीलताको खेती बढेको बढ्यै छ । गीतमा घटनाप्रधान र महिला सशक्तीकरणका आवाज छैनन् । छिट्टै चर्चामा आउन भीडमा बदनाम नै भए पनि नाम चम्काउन गलत नियतका तीज गीतको सहारा लिएको पाइन्छ । त्यसो त उच्छृंखलताको भीडमा फाट्टफुट्ट राम्रा गीत पनि भेटिन्छ ।

तीज गीतमा छाडापन त छँदैछ । महिलालाई होच्याउने, उपहास गर्ने प्रवृत्ति पनि मैलाएको देखिन्छ । पशुपति शर्माको ‘नकचरी आएको’, बबिता बानियाँ र टीका सानुको ‘सौता–सौताबीच कडा झगडा’, कला बस्नेतको ‘थोपडाले धोका दियो’ दुर्गेशको ‘ख्यास्स पुतली’ यसका उदाहरण हुन् ।

वर्षभरि नाक मुख नदेखाउने, नाम नै नसुनेका कलाकार पनि सके आफू नांगिएर, शब्दलाई बंग्याएर हिट हुने मेलो बनेको छ, तीज गीत । यसले मौलिकता धरापमा परेको छ । तीजका मौलिक गीतहरू बिस्तारै लोप हुने अवस्थामा पुगेका छन् । केही तीज गीतले सामाजिक तथा सांस्कृतिक पक्षमा खलल पुर्याइरहेको लोकसंगीतका सर्जकहरू बताउँछन् ।

पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ । विडम्बना के हो भने यो खर्चले हाम्रो संस्कृतिलाई थोरै भएपनि जगेर्ना गर्नुको साटो कमजोर बनाइरहेको छ । पैसा खर्च गरेपछि जो कोही पनि कलाकार बन्न सक्छन् भन्ने मान्यताले जरा गाड्दै गएको छ ।

तीज गीतमा कलाकारले यसको मौलिकतामा ध्यान नदिँदा विकृति भित्रिएको गुनासो बढ्दै गएको छ । तर, केही कलाकार रातारात भाइरल हुने मोहका कारण तीजमा उच्छृङखलता बढेको बढ्यै छ ।

अहिलेका गीतले तीज केका लागि मनाउने हो भन्ने नै बिर्सिएको छ । हुन त परिवर्तन समयको नियमित चल्ने प्रक्रिया हो । समयक्रमसँगै सामाजिक, राजनीतिक व्यवस्था त फेरिन्छ भने गीतसंगीत पनि परिवर्तन हुने नै भए । हिजोजस्तै आज पनि तीज गीत भन्नासाथ बुहारीहरूको गुनासो र रोइकराई हुनुपर्छ भन्ने होइन । तर, आधुनिकताको नाममा तीजको मैलिकता कत्तिको सम्बोधन गर्न सकेका छन् ? भन्ने प्रश्न चाहिँ गहन हो ।

माइती, चेली र मौलिक परम्परासँग प्रत्यक्ष सरोकार राख्ने तीज गीतको विषयमा मायाप्रीतिलाई घुसाएर संस्कृति भुल्दै गएको पाइन्छ । यसले परम्परा जोगाउँछ कि दबाउँछ भन्ने सोच्नुपर्ने अवस्था आएको छ ।

हुन त चाडपर्व मान्ने आ–आफ्नै शैली र तरिका होलान् । मनोरञ्जनबिनाको जीवन सार्थक नहोला । बुहारी जीवनको विरह, वेदना र सकस फेरिए होलान् । माइती जान नपाउने बाध्यता हट्यो होला । सासुले बुहारीलाई गर्ने व्यवहार फेरिए होलान् ।

तर, अहिले पनि समाजमा महिला हिंसा, हत्या र बलात्कार घटेको छैन । प्रहरीको तथ्याङकअनुसार दैनिक ७ जना महिला बलात्कृत हुने गरेका छन् । यो त बाहिर आएको तथ्यांक मात्र हो ।

तीजको अवसरमा यसलाई मुद्दा बनाइनु पर्ने हो कि ! गीतमा यस्ता मुद्दालाई उठाइनु पर्ने हो कि ! हिंसा, हत्या र बलात्कारजस्ता घटनालाई तीज गितबाटै उठाइनुपर्छ भन्न खोजेको होइन, त्यो दायित्व महिलाको मात्रै होइन । हामी सबैको सामाजिक दायित्व हो । तर, जसले जहाँबाट सकिन्छ, त्यहीँबाटै पहल गर्नुपर्छ । होस्टेमा हैसे गर्नुपर्छ । त्यसैले तीजका अवसरमा निकाल्ने गित, गरिने कार्यक्रममा यस्ता विषय उठाइनुपर्छ ।

भड्किलो पहिरनसँगै गीतको मौलिकता नै तोडमोड गरिनु संस्कृति र सभ्यतामाथि नै आँच पुर्याउनु हो । सिर्जनाहरू समग्र महिलाको सामाजिक तथा सांस्कृतिक जीवनलाई बोल्ने हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्