माओवादको उजिन्डोले झुन्डिएको
च्वेःगेभाराको हड्डीले निर्मित दबासोको
एक थान राइफल
भिराउनु भएको थियो मेरो काँधमा
त्यो राइफल भिरेर म
परेड खेल्न थालें
तानाशाहीहरुको आँगनमा
निशाना बनाउन थालें
शासकहरुको कन्चट
तेसो गर्दैगर्दा शासकहरुको नजरमा
म आतंककारी भएको थिएँ
फुली लगाईदिएपछि आतंककारीको
अशान्त हुन थाले शान्त बस्तिहरु
तर्सिएका थिए शुन्दर शहरहरु
प्रेमिल प्रेमिल आँखाहरुले पनि
घृणित नजर लगाएका थिए
तै पनि बन्दुक बोकिरहेँ
माओले खनेको अक्करे बाटोबाट
खाएर एक मुठी सातु
छिचोल्दै छिचोल्दै हजारौं दुश्मनहरुको किल्ला
पुग्नु थियो साम्यवादी मैदानमा
आखिर युद्ध, युद्ध नै थियो
काला किल्लाहरुलाई लाल बनाएर
फर्कदै गर्दा
युद्ध गर्नु थियो अरुणको भंगालोसँग पनि
खेल्नै पथ्र्योे तमोरको भेलसँग पौठेजोरी
थाम्दै–थाम्दै ढुंगा–मुढा, भेल, पहिरोहरु
भञ्ज्याङ र देउरालीको
चिसो सिरेतोलाई तताउँदै
तरे पछि कैयौं जंघारहरु
मुक्तिको पर्खाईमा बसेका
चौतारीहरुसँग गाँसेर जनवादी प्रीत
चलेको थियो होडबाजी
तारेभिरको उकालोहरुसँग
तै पनि मैले बन्दुक बोकिरहेँ
मैले, बन्दुक बोकिरहेँ
धर्ती नै चिस्याउने हिउँमा हिँडेर
हड्डी नै गलाउने प्रचण्ड गर्मिमा उभिएर
जो हजुरले भिराउनु भएको बन्दुक
बोक्नु थियो मैले बोकिरहेँ
यात्रा थियो– हजार माईलको
युद्ध गर्नु थियो– हजारौं हजार
बसिसकेको थियो लत– युद्ध गर्ने
मीठो लाग्थ्यो– बम बारुदको धुवाँ
गोलि पड्केको आवाज
ताल लाग्दै थियो जनवादी संगीतको
लाउँदै थिए अन्तिम निशाना
दबाउँनै लागेको थिएँ टिगर
म रंगमञ्चमा उभिएको पात्र झैं
तपाईंले एक्कासी नेपथ्यबाट
काशन छोड्नु भयो बन्दुक बिसाउनु भनेर
मेरो काँध पट्टकै गलेको थिएन
खुट्टाहरु थाकेका थिएनन् मेरा
तै पनि हजुरको आदेश मुताबिक
मैले बन्दुक बिसाएँ
गहिरो माया बसेको थियो बन्दुकसँग
तिनै बन्दुकसँग थियो मेरो जिवन र मृत्यु
बदल्नु थियो तिनैसँग संसार
गर्नु थियो अनगिन्ती यात्रा
तर आदेश आएपछि हजुरको
आधा यात्रा मात्र गरेर
मैले बन्दुक बिसाएँ
जब मैले बन्दुक बिसाएँ
साँघुरो लाग्न थाल्यो साम्यवादी बाटोहरु
अनकन्टार जंगल देख्न थालेँ
माओवादको दर्शन
फिक्का–फिक्का लाग्न थाल्यो क्रान्तिका रंगहरु
अनि र त अचेल
सोध्छन् त्यो पहाड पर्वतहरुले
खोइ तिम्रो बन्दुक भनेर
सोध्छन् तारेभिर र उजाड–उजाड चौतारीहरुले
खोइ तिम्रो बन्दुक ?
तेह्रथुमको बगालेमा बगेका रगतले सोध्छ
हामीले बोकेको बन्दुक खोइ ?
पान्थरको मेहेलबोटेमा बगेको रगतले सोध्छ
तिमीले बन्दुक किन बिसायौ ?
म अनुत्तरित छु
आफैलाई पनि प्रश्न गर्न मन लाग्छ
साँच्चिकै मेरो बन्दुक खोइ ?
नहराए झै शरीरबाट ग्रीनेडको छर्रा
गिजोली रहन्छ एउटा प्रश्नले सधैँ
नभेटेपछि मानवीय मुटुमा
ती प्रश्नको जवाफ
सोध्ने गर्छु अन्धाकार रातलाई
मेरो बन्दुक खोइ ?