काठमाडौँ । पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लु’ को जोखिम नेपालमा पनि बढेको विज्ञहरूले चेतावनी दिएका छन् । उच्च संक्रामक मानिएको टोमाटो फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ ।
संक्रमणका कारण बालबालिकाको शरीरमा गोलभेंडा (टमाटर)जस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लु’ नाम दिइएको हो । भारतमा हालसम्म १ सय ८ जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केरलमा ८२ र तमिलनाडु राज्यमा २६ जना संक्रमित भएका हुन् ।
संक्रमण फैलँदै गएपछि भारत सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै पूर्वसावधानी अपनाउन आग्रह गरिसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लु पहिलो पटक केरला राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो ।
भारतमा फ्लुको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सल्लाह दिएका छन् ।