Logo
Logo

भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन


378
Shares

त्रिशूली । जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोट जिल्लामा करिब नौ हजार निवेदन सङ्कलन भएको छ । जिल्लामा रहेका बाह्र पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’मा सम्झौता गरेर निवेदन सङ्कलनको चरण पूरा भएको जनाइएको छ ।

आठवटा पालिकामा अव्यवस्थित बसोबासी र भुमीहीन सुकुम्बासीबाट आठ हजार ६ सय ४० निवेदन प्राप्त भएको आयोगको नुवाकोट अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । उनका अनुसार आयोगले जारी गरेको ३५ दिने सूचनाको समयसीमा भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीमार्फत जग्गा प्राप्तिको माग गर्दै उक्त संख्याको निवेदन प्राप्त भएको हो ।

प्राप्त निवेदनमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या चार सय २८ वटा छ भने अव्यवस्थित बसोबासीको संख्या आठ हजार दुई सय १२ रुजु गरिएको छ । आयोगको केन्द्रीय कार्यालयसँग स्थानीयतहले सम्झौता पश्चात निवेदन सङ्कलनको लागि जारी गरेको ३५ दिनको अवधिमा सङ्कलन भएका निवेदनको हाल वडातहमा रहेका सहजीकरण समितिले छानबिन अघि बढाएका छन् ।

सूचना प्रवाहको पहुँच भन्दा बाहिर रहेका तथा निवेदन बुझाउन आवश्यक कागजात पुराउन नसकेका एवं वडामा कर्मचारीको अभावले छुट भएका सुकुम्वासीको हकमा भने ‘विशेष निर्णय’ गरेर थप निवेदन सङ्कलन गर्न सकिने आयोगले जनाएको छ ।

निवेदन सङ्कलन पश्चात कम्प्युटरमा प्रविष्ट, वडा र पालिका सहजिकरण समितिको निर्णय, पालिकाको कार्यपालिका बैठकको निर्णय हुँदै जिल्ला सहजिकरण समितिको सिफारिससहित आयोगले जग्गा उपलब्ध गराउन नुवाकोटमा कम्तिमा छ महिना लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्