एजेन्सी । सात दशकदेखि चीनको सत्ता चलाइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलन आगामी अक्टोबर १६बाट सुरू हुने भएको छ ।
समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार पार्टीको सम्मेलन अक्टोबर १६बाट गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा चीनभरिबाट २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुन्छन् । पाँच–पाँच वर्षमा हुने सम्मेलनबाट पार्टीको नयाँ नेतृत्व चयन हुन्छ । साथै आगामी पाँच वर्षमा पार्टीले लिने रणनीति पनि तय हुन्छ ।
यो सम्मेलनबाट सी चिनफिङ फेरि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुने अपेक्षा गरिएको छ । किनकी त्यसैका लागि उनले यसअघि नै संविधानबाट दुई कार्यकाल मात्र पदमा रहन सक्ने प्रावधान संशोधन गरिसकेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव नै चीनको राष्ट्रपति हुने भएकाले उनी तेस्रो कार्यकाल चिनियाँ राष्ट्रपति हुने अनुमान गरिएको छ ।
चिनफिङ तेस्रो कार्यकाल महासचिव भए भने माओ त्सेतुङपछि तीन पटक चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख हुने उनी पहिलो व्यक्ति हुनेछन् ।
पार्टीको सम्मेलनले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको पनि चयन गर्नेछ ।