Logo
Logo

प्रहरीको जागिर छाड्दै अमेरिकातिर


29.5k
Shares

काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको राजीनामा नौलो विषय होइन । पेन्सन अवधि पुगेलगत्तै उनीहरू राजीनामा दिएर विदेशिने गरेका छन् । थोरै तलब र धेरै कामका कारण प्रहरीमा राजीनाको लहर बढ्दो छ ।

तल्लो तह मात्र होइन माथिल्लो तहमा पनि राजीनामा रोकिएको छैन । इन्सपेक्टरमा भर्ना भएका करिअरवाला प्रहरी अधिकृतहरु समेत राजीनामा दिन थालेका छन् ।

गत वर्ष डिएसपी भिष्म हुमागाई राजीनामा दिएर अमेरिका पुग्दा धेरैलाई आश्चर्य लागेको थियो । अनुसन्धानमा दक्ष अधिकृतका रुपमा चिनिने उनी प्रहरीमा टिक्न सकेनन् ।

यो वर्ष अर्का डिएसपी राजीनामा दिएर अमेरिका पुगेका छन् । डिएसपी देवेन्द्र पाण्डे राजीनामा दिएर विदेशिएका हुन् । लामो समय आइजिपीको पिएसओ भएर काम गरेका उनले डिएसपी भएपछि रसुवा जिल्लाको इन्चार्ज पाएका थिए । रसुवाबाट फर्किएलगत्तै उनी अमेरिका पुगेका हुन् । परिवार पहिलेदेखि नै अमेरिकामा बस्दै आएकाले पनि उनले राजीनामा दिएको बताइन्छ ।

नेपाल प्रहरीमा यसअघि पनि धेरै अधिकृत राजीनामा दिएर अमेरिका पुगेका छन् । दिवसराज उदास, जगदिश पोखरेल, सुबोध घिमिरे, खेम केसी केसी लगायत सिनियर अफिसर जागिर छाडेर विदेशिएका छन् । सशस्त्र प्रहरीका डिआइजी दुर्गा बहादुर कुँवर नै आइजिपी पदमा पुग्ने सम्भावना छाडेर ५ वर्षअघि अमेरिका पुगेका थिए । केही प्रहरी अधिकारी भने जागिर छाडेर राष्ट्रसंघीय जागिरमा जाने गरेका छन् ।

प्रहरीभित्र इमान्दार अधिकृतको मूल्याङकन नै हुन छाडेकाले पछिल्लो समय नैराश्यता बढेको छ । पैसा कमाउने र त्यही पैसाको बलमा नेताहरुलाई खुशी बनाएर सरुवा–बढुवा गराउनुपर्ने बिकृती बढ्दै गएको छ । प्रहरी महानिरीक्षक आफैं पनि शक्तिविहिन हुँदा प्रहरी सिनियर अधिकृतमै जागिरप्रति नैराश्यता बढ्न थालेको हो ।

एकातर्फ प्रहरीमा भर्ना नै हुन नचाहने अवस्था छ भने भर्ना भएकाहरु समेत यसरी बीचमै जागिर छाड्ने प्रवृत्ती बढेको छ । तल्लो तहमा त अझै पेन्सन अवधि १६ वर्ष बनाउन तिव्र माग छ । पेन्सन अवधि १६ वर्ष भएमा तल्लो तहका झन्डै आधा प्रहरीले पेन्सन भएसँगै जागिर छाड्ने जोखिम छ । सरकारले सुरक्षाकर्मीको सुविधा बढाउन चासो नदिदा पनि यस्तो अवस्था आएको हो । प्रहरी नेतृत्वले पनि राम्रा अफिसरको संरक्षण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्