Logo
Logo

मिटरब्याजमा तानिए एमाले सांसद


520.8k
Shares

काठमाडौं । आइजिपी नभएपछि जागिर छाडेर एमालेको राजनीतिमा लागेका नवराज सिलवाल फेरि अर्काे झमेलामा परेका छन् । मिटरब्याज असुलीको आरोपमा उनीमाथि गृह मन्त्रालयमा उजुरी परेको छ ।

तराईका जिल्लामा मिटरब्याजीले आतंक मच्चाएपछि गृह मन्त्रालयले सहसचिव डा भीष्मराज भुषालको नेतृत्वमा यससम्बन्धि कार्यदल नै बनाएर उजुरी लिइरहेको छ । जसमा देशभरीबाट करिब दुई हजार उजुरी परेको छ । काठमाडौंमा पनि करिब डेढ सय जनाले उजुरी गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा त्यसरी उजुरी पर्नेमध्ये एक एमाले सांसद सिलवाल हुन् ।

उनीविरुद्ध सिन्धुपाल्चोकका सागर थापाले उजुरी गरेका हुन् । सापटी लिएको पैसा भन्दा तेब्बर बुझाउँदा पनि आफुहरुको जग्गा खाइदिएको भन्दै उनले सिलवामाथि कारबाहीको माग गरी उजुरी दिएका हुन् । सागरका बुबा गुनबहादुर थापासँग सिलवालकै ठूलो लफडा चलेको थियो । सिलवाल पदमा हुँदा गुनबहादुरलाई उनले लागुऔषधदेखि बैंकिङ कसुरसम्मका मुद्दा चलाएका थिए ।

राजीनामासँगै सिलवालको मिटरब्याजको विवाद हराएको थियो । अहिले गृह मन्त्रालयले छानबिन थालेपछि फेरि यो विवादमा सिलवाल पर्ने भएका छन् । ललितपुरबाट फेरि चुनाव लड्ने तयारीमा रहेका उनलाई मिटरब्याजको झमेलाले सताउने देखिन्छ ।

यसअघि आइजिपी नियुक्तिको समयमा पनि यो विवाद उचालिएको थियो । अहिले चुनावको बेलामा पनि उजुरी परेपछि सिलवाल तनावमा परेका छन् । यसअघि उनीमाथि कीर्ते मुद्दामा समेत छानबिन भएको थियो । तर, त्यसबेला सत्ताको प्रयोग गरी मुद्दा नचलाउने निर्णय गराउन सफल भएका थिए ।

त्यसो त सिलवाल मात्र होइन, दर्जनौं प्रहरी अधिकारी मिटरब्याजको धन्दामा रहेको स्रोत बताउँछ । गुन्डा तथा बिचौलियासँग मिलेर धेरै प्रहरीले मिटरब्याजमा पैसा लगाएका छन् ।

रमाइलो त के छ भने गृह मन्त्रालयले गठन गरेको कार्यदलकै सदस्य रहेका केही प्रहरी समेत मिटरब्याजमा पैसा लगाउने गर्दछन् । काठमाडौंका केही ठूला मिटरब्याजीविरुद्ध पनि हाल उजुरी परेको छ । तर, उनीहरुको पहुँच बलियो भएकाले कारबाही हुनेमा शंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्