ताप्लेजुङ । आठराई त्रिबेणी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको सयदिने मुख्य उपलब्धी सार्वजनिक गरेको छ ।
जसमा नागरिकको विद्युत् निःशुल्क गर्नेदेखि कक्षा ११ र १२ को पढाई निःशुल्क गर्ने, विद्यालय बन्दमुक्त गर्ने जस्ता उपलब्धि समेटिएका छन् । पालिका अध्यक्ष दीपेन पोमूले बिद्युत् निः शुल्क गर्नका लागि कार्यविधि तयार गरिएको बताए ।
यस्तै पालिकाभित्रका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का बिद्यार्थीको अध्ययन शुल्क पालिकाले व्यहोरेर शुल्कवापतको रकम बिद्यालयलाई दिन थालिएको उपलब्धिमा उल्लेख छ ।
‘नवनिर्वाचिन जनप्रतिनिधिको दिर्घकालिन लक्ष्य, पालिकावासीको माग, घोषणा पत्रमा गरेको प्रतिबद्धता अनुरुप जनप्रतिनिधि र कर्मचारीहरू अहाेरात्र खटिइरहेका छौं,’ अध्यक्ष पोमूले भने, ‘भौगोलिक रुपले विकट भएपनि नागरिकलाई स्थानीय सरकारको अनुभुति दिलाउने प्रयासस्वरुप गरेका सय दिनका मुख्य काम सार्वजनिक गरेका हौं ।’
यो बीचमा लामो समय देखि मानसिक रोगको शिकार भई बन्धनमा परिरहेका मानिसको उद्धार तथा आर्थिक सहयाता सहित उपचार गर्न थालिएको पालिकाले जनाएको छ ।
सुशासन प्रवद्र्धनका लागि कर्मचारीको कार्यप्रतिको अनुगमन र व्यवस्थापन कार्य अघि बढाइएको, ५ वटै वडामा बर्थिङ सेन्टर स्थापनाको प्रक्रिया सुरु भएको लगायतका विषय उपलब्धिमा समेटिएका छन् ।