काठमाडौं । भिजिटि भिसामा विदेश लैजाने गिरोहमाथि प्रहरीले छानबिन सुरु गरेको छ । पीडितहरुले उजुरी दिन थालेपछि यसमा छानबिन थालिएको छ ।
मानवतस्करको समूहले भिजिट भिसामा विदेश लैजान लागेको आशंकामा दुई सय ६८ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । प्रहरीले कडाई गरेसँगै भिजिट भिसाका नाममा खाडीमा काम खोज्न जाने क्रम रोकिएको छ ।
भिजिट भिसामा मानवतस्करी बढेको गुनासोपछि प्रहरीले गत ७ भदौदेखि कडाई थालेको थियो । शंकास्पद कागजपत्र भएकालाई दैनिकजसो प्रहरीले विमानस्थलबाट फर्काउदै आएको थियो । छानबिनको क्रममा ती कागजपत्र नक्कली भएको समेत पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा कतिपय महिलालाई दुबई हुँदै सिरिया र इरानमा बिक्रिका लागि लैजान लागिएको समेत पुष्टि भएको छ ।
एक सातामा फकाईएकामध्ये एक सय २० जना महिला छन् । उनीहरुलाई हाउसमेडको काम लगाइदिने भन्दै दलाल समूहले कुवेत र दुबई हुँदै अन्य देशमा लगेर बिक्रि गर्न लागिएको अनुसन्धानमा खुलेको छ । यसरी फर्काइएकामध्ये चार जनाले मानवतस्करीका नाइकेविरुद्ध उजुरी दिएका छन् । ‘विमानस्थलबाट फर्काएका महिलाहरुले उजुरी दिइरहनुभएको छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले भने,‘उहाँहरुलाई सिरिया, यमन जस्ता देशमा लगेर बिक्रि गर्न लागेको खुलेको छ । हामीले मानवतस्करी गर्ने गिरोहमाथि अनुसन्धान थालेका छौं ।’ विदेशमा रहेका गिरोहमाथि समेत प्रहरीको सिआइबी र मानव बेचबिखन ब्यूरोले छानबिन थालेको छ । छानबिनमा अध्यागमनका कर्मचारीहरु समेत पर्ने प्रहरी अधिकारी बताउँछन् ।
ब्युरोले अन्य पीडितहरुलाई पनि परामर्श दिइरहेको छ । कमजोर आर्थिक अवस्था भएका ग्रामिण क्षेत्रका महिलाहरुलाई दलाल समूहले त्यसरी रोजगारीको प्रलोभनमा खाडी देश लैजान लागेको थियो । त्यसरी गएकामध्ये धेरै समस्यामा परेको र आफुहरुले उद्धार समेत गर्दै आएको एसपी मल्ल बताउँछन् । विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सको समेत मिलेमतोको आशंकामा भिजिट भिसामा जाने क्रम बढेपछि प्रहरीले यस्तो धन्दा रोक्न अग्रसरता लिएको हो । प्रहरीको कडाईसँगै पछिल्लो दिनमा भिजिट भिसामा जाने क्रम रोकिएको छ । केही दिनयता भिजिट भिसामा खाडी जाने एकदमै कम आइरहेको विमानस्थल प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले बताए । ‘भिजिट भिसामा जानेहरु समस्यामा नपरुन् भन्ने उदेश्यले हामीले कडाई थालेका हौं,’ उनले भने,‘काम बिशेषले नै जान लागेकालाई दुःख दिएका छैनौं ।’
भिजिट भिसामा सबैभन्दा धेरै यूएई जाने गरेका छन् । पछिल्लो नौ महिनामा ५१ हजार भन्दा धेरै यूएई गएको र त्यसमध्ये आधा नफिर्कएकाले उनीहरु त्यहाँबाट जागिर खोज्न विभिन्न देश पुगेको आशंका गरिएको छ । बैदेशिक रोजगारदेखि सुन तस्करीमा जाने व्यक्तिहरुको अध्यागमनमा सेटिङ रहेको विगतमा खुल्दै आएको छ । तर, गृह मन्त्रालयले अध्यागमनका कर्मचारीलाई जोगाउँदै आएको छ ।