काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटघाट भएको छ ।
बुधबार दिउँसो शीतलनिवासमा भएको भेटघाटमा उनले नागरिकता सम्बन्धी समस्या समाधान गर्न विधेयक ल्याएको बताएका छन् । त्यस्तै।, नागरिकताको समस्या हल गर्न पुरानै कुरालाई राखेर विधेयक ल्याएको बताएका थिए ।
राष्ट्रपतिले नागरिकता विधेयमा आफ्नो चासोबारे कुरा राखेका थिए । विशेष गरी वैवाहिक अंगीकृतलाई नागरिकता दिन समय तोक्ने विषय नराखेकोमा भण्डारीले प्रचण्डसँग असन्तुष्टि जनाएका थिए ।
जवाफमा प्रचण्डले आफ्नै अग्रसरतामा राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानको व्यवस्था राखिएको बताएका थिए ।
उक्त विधेयक अगाडि बढाउन आग्रह गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा टेबुल नगरी पाँच महिना अड्काएको प्रचण्डको आरोप थियो ।
संसद विघटनपछि ल्याइएको अध्यादेशमा पनि वैवाहिक अंगीकृतको विषय समावेश नभएको र राष्ट्रपतिबाट उक्त अध्यादेश तत्कालै स्वीकृत गरिएको भन्दै प्रचण्डले अहिले यो विषयलाई धेरै राजनीतिकरण गर्नु उचित नहुने धारणा राखेको उनको सचिवालयले बताएको छ ।