Logo
Logo

१०० सिट नछाड्ने कांग्रेसको अडान


7.1k
Shares

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा सबैजसो नेताहरूले कांग्रेसले १०० सिटको अडान छोड्न नहुने बताएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन ।

बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन । यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोड दिएका थिए । तर गठबन्धन गर्दा पार्टीले आफ्नो हैसियतलाई पनि ध्यानमा राख्नुपर्ने सुझाव थियो ।

बैठकमा नेता शेखर कोइरालाले कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने बताए । उनले कांग्रेसले १०० सिटको अडानबाट तल झरे पार्टीभित्र आकांक्षीबीच विद्रोह हुन सक्ने बताएका थिए ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सामेल गर्नुपर्ने सुझाव राखे ।

अर्का पूर्वउपसभापति विजयकुमार गच्छदारले भने विगतमा कांग्रेसले पराजय व्यहोरेका क्षेत्रमा समेत यसपटक भने कांग्रेसको पक्षमा जनलहर रहेको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्