एजेन्सी । तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।
रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत सङ्घको पतन रोक्न असफल नेता गोर्बाचेभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति थिए । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न तथा जर्मनीको एकीकरणमा उनको योगदान स्मरणीय छ ।
अमेरिका राष्ट्रपति रोनाल्ड रेगन र जर्ज बुशसँगका शिखरवार्ता र तिनले आणविक हातहतियारको दुइदेशीय होडबाजी घटाउन मद्दत गरेकाले उनी विश्वरङ्गमञ्चमा सधैँ चर्चाको चुलीमा रहेका थिए ।
‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’ का प्रवर्तक उहाँ देशको आन्तरिक सुधारका निम्ति थाल्नुभएका कामका कारण अन्ततः विशाल सोभियत सङ्घलाई टुक्रिनबाट जोगाउन अक्षम थिए । तानाशाही सोभियत राज्यको पतन, पूर्वी युरोपेली राष्ट्रहरूलाई रूसी प्रभुत्वबाट मुक्त गर्ने र दशकौंदेखि पूर्व–पश्चिम आणविक टकरावको अन्त्यको परिणामस्वरूप देशा १५ गणराज्यमा विभक्त भयो । सात वर्षभन्दा कम समय सत्तामा रहे पनि राष्ट्रपति गोर्भाचेभले परिवर्तनको रोमाञ्चक शृङ्खला प्रस्तुत गरेका थिए ।
सन् १९९१ को अगस्टमा उनका विरुद्धमा भएको विद्रोहको अन्ततः सोही वर्षको डिसेम्बर २५ मा उनको राजीनासँगै पटाक्षेप भयो । संयोग पनि कस्तो अगस्ट महिनामा नै उनको अवसान भएको छ । आणविक शक्ति सम्पन्न सोभियत सङ्घमा आन्दोलन दबाउन बल प्रयोग गर्दा अराजकता बढ्ने डरले आफूले त्यसो नगरेको सत्ताच्युत भएको झण्डै २५ वर्षपछि एसोसिएटेड प्रेसलाई बताएका थिए ।
नोबेल शान्ति पुरस्कारप्राप्त नेता गोर्बाचेभ सामान्य किसानको छोरो थिए । सन् १९५२ मा कम्युनिष्ट पार्टी अफ सोभियत सङ्घको सदस्यता लिएका उनी सन् १९८० मा उक्त पार्टीको सबैभन्दा कान्छो पूर्ण पोलिटव्यूरो सदस्य थिए ।
नेता गोर्बाचेभको निधनमा विश्व नेताहरूले दुःख व्यक्त गर्दै शोक प्रकट गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई बीसौं शताब्दीका महान् नेताको संज्ञा दिँदै उनका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।