Logo
Logo

आफूले चिन्न नपाएको मेरो बा


11k
Shares

जीवन यात्राभरी नै बालाई केवल खोजिरहें, कतै भेट होलाकि भन्ने आशा मनमा बोक्दै । बा बितेको कुरा सत्य नहोस्, एउटा कथाजस्तै बनोस् र कुनै दिन ‘यति वर्ष पछि बासँग भेट’ भन्ने शीर्षकमा कुनै समाचार सुन्न पाइयोस् जस्तो लाग्थ्यो ।

खोजेर पनि कहिल्यै भेट्न नपाएको, सपनामा समेत पनि नदेखेको पात्र हो मेरो ‘बा’ ! अहिले यो आफ्नै स्मृति कोट्याएर केही लेखिरहँदा पनि आमाको जति उल्लेख छ, बाको कतै छैन ।

मनले संधैभरी बोकिरहेको दुःख हो यो । जति नै कोसिस गरे पनि म बाको बारेमा लेख्न सक्दिनँ– मेरो जीवनको अपूर्ण अंश हो यो ।

संस्मरणमा आफ्नै संघर्ष र इतिहास आउँछ । ‘म’ नै बढि आउँछ । त्यो ‘म’ हुनका निम्ति हुनैपर्ने ‘बा’ र ‘आमा’ मध्ये मेरो बा पद्मदेव मानन्धरको चित्र सम्झनामा अडिनसम्म पनि नपाउँदै, म आठमहिनाकी हुँदा बाले संसार छोडिसक्नु भएछ ।

एकादेशमा मेरा पनि बा थिए रे भने जस्तो ! उहाँले पढेका केही पुस्तकहरू भने मलाई नै भनेर छोडेको जस्तो लाग्छ । सानैदेखि मलाई ती पुस्तकले आकर्षित गर्थे । तिनैले मलाई लेखक पनि बनाए ।

यही नै होला मैले बाबाट पाएको अंश । मेरो नाम अर्को ठूलो कुरा हो मैले बाबाट पाएको– ‘सुलोचना’ बाले नै दिएको नाम रे । यही नामबाट आजसम्म मेरो परिचय बनेको छ, नागरिकता बनेको छ ।

‘बाले दिएको नाम हो मेरो’ भन्दा मनमा एउटा भिन्दै सन्तोष पनि छ । उहाँले दिएको नामसँगै उहाँको सपना पनि बोकें कि ! उहाँ आफै पनि साहित्यप्रेमी हुनुहुँदो रहेछ । बाँच्न पाउनु भएको भए उहाँ पनि साहित्यकार हुने सम्भावना धेरै थियो । बाका अलिखित पुस्तकको तेस्रो अध्याय हुँ म ।

मेरी आमाले सुनाएअनुसार एक भद्र पुरुष र समाजसेवी पनि हुनुहुन्थ्यो, बा । ठूली दिदीको सम्झनामा उहाँ हस्तकलामा निपुण कलाकार पनि हुनुहुन्थ्यो । मेरी दिदी स्वयं पनि आफ्ना अनेक कला देखाउन नपाएकी कलाकार हुनुहुन्छ, शिल्पी हुनुहुन्छ । त्यो पनि बाकै गुण सरेको होला । बा जानेबेला दिदी पनि भर्खरै आठ वर्षकी मात्र हुनुहुन्थ्यो रे, धेरै त के नै सिक्न पाउनु भो होला !

मलाई जन्माई हुर्काइ गर्ने मेरी आमा २६ वर्षकी मात्र हुँदा, बा आफै पनि युवाकालमै हुँदा संसार छोड्नु भयो, पेटको बिरामी भएर । चन्द्रमा जस्तै चहकिली मेरी आमा चन्द्रमायालाई दुःखको कालो बादलले सधैंको निम्ति छोपिदियो । उहाँको भाग्यमा ग्रहण लागे जस्तै भयो ।

मैले आमालाई सधैँ विधवा नारीको भेषभुसामा मात्र देखेँ । हामी दिदीबहिनी अलि हुर्केपछि बल्ल हाम्रै करले बुट्टा र रंग भएको कपडा लगाउन थाल्नुभयो । गहना त कहिल्यै लगाउनै भएन । त्यसैले पनि होला, गहनाप्रति मेरो पनि कहिल्यै मोह भएन । मेरी आमा नै मेरो संसार हुनुहुन्थ्यो बच्चामा । साथमा दुई कलिला दिदीहरू । हाम्रो निम्ति दुःख र अभाव त साथी नै भैदिए ।

पछि हुर्कँदै जाने क्रममा सामाजिक–राजनीतिक परिवर्तनको चाहना र चेतना हुनु पनि यही कारणले हुन सक्छ । सानैदेखि दुःखसँग साक्षात्कार हुनुले संवेदनशील बनायो होला । त्यही संवेदनशीलताले परिवर्तनकामी बनायो होला ।

लेखक भएर सोच्दा सधैं मनमा आउँछ– मेरो पुरानो घरमा मेरी अजीको (बाकी आमाको) समेत कविता र गीतहरू भेटिए । ठाकुरलाल मानन्धर जस्ता बाका साथीहरूको निबन्धको हस्ताक्षर भेटेको पनि याद छ मलाई ।

नेपाली र हिन्दी साहित्यका पुस्तकहरू पनि प्रशस्त थिए घरमा । कम उमेरमै मैले सकीनसकी पढेकी थिएँ विभिन्न विधाका ती पुस्तकहरू । पछि त ती पुस्तकहरू पनि हराउँदै गए । बचाउनुपर्छ भन्ने चेत पनि थिएन त्यतिबेला ।

ती पुस्तकमा बाका हस्ताक्षर थिए । सुन्दर अक्षरले लेखेका, बुट्टा बनाएका अनेक स–साना नोटबुक पनि थिए । त्यो बेलाको ‘शारदा’, ‘धर्मोदय’ जस्ता पत्रिकाहरू थिए । ‘चन्द्रशेखर’ भन्ने हिन्दी उपन्यास सकी नसकी पढेकी थिएँ ।

भारत उपनिवेशनै हुँदाको पृष्ठभूमिमा लेखिएको उपन्यास थियो त्यो– उपन्यासकी एक नायिकाको नाम थियो ‘शैवलिनी’…। त्यसरी अक्षरका बीचमा बाँच्नुभएका मेरा बा बाँचिरहनुभएको भए पक्कै पनि लेखककै रूपमा चिनिनुहुन्थ्यो होला । तर, यी कुराहरूको सम्झना र तर्कनाले अब कुनै अर्थ राख्दैन ।

अहिले त यी हरफहरू लेख्दैगर्दा मेरी आमाले पनि संसार छोड्नु भएको ३ वर्ष पुरा भइसकेछ । बाकै बारेमा थप कुरा सोध्नलाई दिदीहरू बाहेक अरु कुनै ठाउँ छैन । बाको बारेमा सोच्न थाल्दा फेरि आमाकै दुःखहरू ब्युँतन्छन् । दुःखको दस्तावेज लेखेर मात्र पनि कसलाई के पो फाइदा हुन्छ र !

खपिनसक्नु पीडा त त्यसबेला भयो– जब खोजेका बेला बाको तस्बिरसम्म पनि भेटिनँ । धेरैपछि टोल छिमेकका काकाबाटै एउटा सामूहिक तस्वीरमा बाको अनुहार देख्न पाएँ । हरेक वर्षको बाको मुख हेर्ने दिन आउँदा बालाई सम्झन खोज्छु । भावुक हुन्छु । चिन्नै नपाएको बाप्रति श्रद्धा जाग्छ ।

जीवनको यो उत्तरार्धमा पनि कति महत्वको कुरा हुने रहेछ बाको सम्झना ! उहाँले काठमा बनाएको एउटा हिमालको आकारलाई बाको चिनो मानेर साथमा राखेकी छु ।

तीन दिदी बहिनी मिलेर बाको सम्झनामा एउटा सानो पुस्तिकासम्म बनाउन सकेका छौं– ‘अबुया लुमन्ति’ । यसको सिकोबाट पनि धेरैजना साथीहरूको बाको आमाको बारेमा स्मृति लेख्न भ्याएको कुरा थाहा पाउँदा पनि सन्तोष लागेको छ ।

अहिलेसम्म पनि मलाई लागिरहन्छ– बा हुनुभएको भए, मलाई बुझ्नु हुन्थ्यो होला । छोरी पनि सामाजिक अभियानमा लागेको कुरा थाहा पाएको भए गर्व गर्नुहुन्थ्यो होला, साथ र ढाढस दिनु हुन्थ्यो होला । त्यो पनि त मनमा कोरिइरहने धमिलो चित्रको शृंखलामात्र त हो ! बामा श्रद्धा सुमन !

प्रतिक्रिया दिनुहोस्