Logo
Logo

राष्ट्रियसभा : डेंगु रोकथाममा ध्यान दिन सरकारसँग माग


189
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे ।

बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए । सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित भएको बताए ।

सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरे ।

सांसद नारायणदत्त मिश्रले मलखादको अभाव हुन नदिन सरकारसँग आग्रह गरे । सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गरे ।

सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरे । बैठकमा सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिरहाका किसानले अझै नपाएको गुनासो गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन दलहरूसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्