Logo
Logo

कागे अष्टमी पर्व मनाइँदै, कागेश्वरी मनोहरामा सार्वजनिक बिदा


630
Shares

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज मनाइँदै छ । पर्वको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा मेला लागेको छ । मन्दिरमा आउ-जाउ गर्न सहज होस् भनेर यातायात सेवा सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरी महादेव मन्दिरमा नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश-विदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ ।

कोरोना महामारीअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी कागे अष्टमी पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले विसं २०७७ देखि एक दिन मात्र पूजा आराधना गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्