एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस इण्डानेसियाको राजकीय भ्रमणमा आज यहाँबाट प्रस्थान गरेका छन् । गत असार १६ गते फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो ।
इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण गर्नेछन् । ‘हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमण हाम्रो गतिशील व्यापार र लगानी सम्बन्धको सम्भावनालाई उपयोगमा प्रयोग हुनेछ,’ जकार्ता प्रस्थान गर्नुअघि उनले दिएको वक्तव्यमा भनिएको छ ।
सिङ्गापुर र इण्डानेसिया भ्रमणका क्रममा कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम् सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए ।
उनले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेसिया सम्बन्धबारे विचारविमर्श गर्नेछन् । इण्डोनेसिया फिलिपिन्सको सहयोगी एवम् निकटतम साझेदार हो ।