Logo
Logo

तिवारीलाई ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’


2k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’बाट दीपेश तिवारी सम्मानित भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीले ५० हजार रुपैयाँको चेक र प्रमाणपत्र तिवारीलाई प्रदान गरेका हुन् ।

नेपालमा सिमेन्ट ढलान युगको सुरुवातकर्ता लोहनीको सम्झनामा २०५९ सालदेखि उक्त सम्मान प्रदान गरिँदै आएको छ । प्रत्येक वर्ष इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसमा एम.एस्सी स्टक्चरल इन्जिनियरिङमा सर्वोच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई उक्त सम्मान प्रदान गरिन्छ ।

स्व. लोहनीको योगदान र उनको बहुआयामिक व्यक्तित्वबारे प्रा.डा. प्रेमनाथ मास्के, प्रा.डा. सुदर्शनराज तिवारी, प्रा.डा. भरत शर्मा र प्रा. डा. मोहनप्रसाद लोहनी लगायतले प्रकाश पारेका थिए ।

प्रा. डा. शर्माले भने, ‘वेदप्रसादजी जिनियस हो । डा. लोहनीले २००५ सालमा नेपाली भाषा प्रकाशिनी समितिले छापेको शिल्प–ज्यामितिको पुस्तक जुन नेपालीमा लेखिएको नेपालको पहिलो थियो । वेदप्रसाद लोहनीले इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको लागि सो पुस्तक लेख्नु भएको थियो ।’

वेदप्रसाद लोहनीको १०८ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाललाई सिमेन्ट ढलान युगमा लैजाने स्व. लोहनी पहिलो नेपाली थिए । उनले जुद्ध शमशेरको पालामा २००२ सालमा नेपालको पहिलो सिमेन्ट ढलान गरेको भवन ‘सरस्वती सदन’ को निर्माण सम्पन्न गरेर सुरु गरेका थिए ।

त्यसपछिको एक दशक लोहनीको युग बनेको थियो । नेपालको सिभिल इन्जनियरिङमा २००२ सालबाट सुरु भएको यो अवधि २०१२ सालमा निर्माण सम्पन्न भएको रञ्जना सिनेमा हलसम्म रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्