Logo
Logo

ओलीलाई घिमिरेले चुनौती दिने


246.5k
Shares

काठमाडौं । आसन्न निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव हराउने उम्मेदवारको खोजीमा सत्तारुढ गठबन्धन लागेको छ । स्थानीय प्रभावशाली व्यक्तिलाई गठबन्धनले उठाउन छलफल थालेको छ ।

ओलीलाई हराउन सक्ने सर्वसम्मत उम्मेदवारमा पछिल्लो समय मोहन घिमिरेमाथि छलफल सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारीहरुको संगठन एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष रहेका घिमिरेलाई सरकारी सेवाबाट राजीनामा दिन लगाएर ओलीविरुद्ध उठाउनेबारे कांग्रेस, माओवादी र समाजवादीका नेताहरुबीच छलफल भइरहेको स्रोत बताउँछ । घिमिरे झापा–क्षेत्र नम्बर ५ कै हुन् । लोकप्रिय कर्मचारी नेता घिमिरेको जिल्लामा राम्रो पकड छ ।

यसअघि उनी एमाले निकट कर्मचारी संगठनको अध्यक्षसमेत भएका थिए । एमाले विभाजनपछि समाजवादीतर्फ लागेका उनी पर्यटन मन्त्रालयमा अधिकृतका रुपमा कार्यरत छन् । उनको नाम एकीकृत समाजवादीले झापा–५ बाट सिफारिस गरिसकेको छ ।

‘गठबन्धनले सर्वसम्मतरुपमा निर्णय गरेमा म राजीनामा दिएर चुनाव लड्न तयार छु’, उनी भन्छन्, त्यसपछि राजनीतिमार्फत कर्मचारीको हकहितका लागि लड्नेछु ।’ खरो स्वभावका कर्मचारी नेता घिमिरे पहिलेदेखि नै ओलीका आलोचकका रुपमा चिनिन्छन् ।

त्यसो त झापामा माओवादी निकट बुद्धिजीवी युग पाठकले पनि चुनाव लड्ने घोषणा गरेका छन् । उनले स्वतन्त्ररुपमा चुनाव लड्ने बताएका छन् । तर, उनको जनाधार छैन ।

झापा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका तर्फबाट विद्यार्थी नेता रञ्जित तामाङले चुनाव लड्ने बताएका छन् । माओवादी सो क्षेत्रमा कमजोर भएकाले एमाले पृष्ठभूमिकै व्यक्तिलाई चुनाव लडाउने गठबन्धनको तयारी छ ।

यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता छैनन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले बलियो उम्मेदवार नपाएपछि प्राध्यापक डा खगेन्द्र अधिकारीलाई राजीनामा दिन लगाएर उठाएको थियो । त्यतिबेला ओलीले ५७ हजार एक सय ३९ मत ल्याउँदा डा अधिकारीले २८ हजार दुई सय ५७ मत ल्याएका थिए । त्यतिबेला माओवादी र एमालेसँगै थियो ।

पाँच वर्षअघि ओलीको क्रेज पनि जनतामा धेरै थियो । ओलीको त्यो क्रेज गुमिसकेको छ । स्थानीय तहको निर्वाचनले पनि त्यो पुष्टि भइसकेको छ । ओलीको गृहनगर दमकमा एमाले पराजित भएको थियो । त्यसकारण विपक्षी उम्मेदवार सशक्त भएमा झापा–५ मा ओलीलाई समस्या हुने देखिन्छ । सोही कारण ओली राप्रपासँग सहकार्य गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धन पनि ओलीविरुद्ध रणनीति बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्