काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार मुद्दाका अभियुक्तलाई सम्मान गरेका छन् । आइतबार कांग्रेस निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा उनले घुससहित पक्राउ परेका एक कर्मचारीलाई सम्मान गरेका हुन् ।
युनियनमा आबद्ध भएका अधिकृत रामबाबु मण्डललाई प्रधानमन्त्रीले सम्मानित गरेका हुन् ।
मण्डललाई साढे दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुखका रुपमा कार्यरत हुँदा उनले सेवाग्राहीसँग घुस लिएका थिए । ३० मंसिर २०७६ मा उनी रंगेहात पक्राउ परेका थिए ।
सो घटनामा अहिले पनि मण्डलले भ्रष्टाचार मुद्दा झेलिरहेका छन् । त्यस्ता व्यक्तिलाई प्रधानमन्त्रीले उत्कृष्ट राष्ट्रसेवा सम्मानित गरेपछि कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको छ । अध्यक्ष गोपालप्रसाद पोखरेलले यो विषयमा प्रधानमन्त्रीलाई झुक्याएको स्रोत बताउँछ ।
त्यसो त कर्मचारी युनियनका नेताहरुलाई सधैं भ्रष्ट कर्मचारी प्यारो हुने गरेको छ । भ्रष्ट कर्मचारीलाई कमाई हुने अड्डामा सरुवा गराउने र उनीहरुबाटै असुलेर कर्मचारी नेताहरुले अकूत आर्जन गरेका छन् ।