Logo
Logo

मुस्लिम आयोगमा विद्रोह


31.2k
Shares

काठमाडौं । अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम आयोगलाई अवैध धन्दाको अखडा बनाई सिंगो मुस्लिम समुदायलाई नै बदनाम गराएपछि आयोगभित्र विद्रोहको अवस्था सिर्जना भएको छ । आयोगका सदस्य तथा कर्मचारीहरुले अन्सारीलाई बहिष्कार गर्ने तयारी गरेका छन् ।

सदस्यहरू महद्दिन अली, मिर्जा अर्सद बेग तथा मोहम्मद सहशुल हकले अन्सारीको गतिविधिको विरोध गरेका छन् । आयोगभित्रै शंकास्पद व्यक्तिहरु ल्याउने र व्यक्तिगत धन्दाको अखडा बनाएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

पछिल्लो समय विमानस्थलको भिआइपी कक्ष प्रयोग गरी उनले फरार अभियुक्त रिजवान आलमलाई भगाएका थिए । पछि प्रहरीले होटलबाट पक्राउ गरेको थियो ।

आयोगका अध्यक्ष अन्सारीले आफ्नो पदीय दुरुपयोग गरी फरार रहेका व्यक्तिलाई त्यसरी भिआइपी कक्षमार्फत भगाएको विषयमा प्रहरीले छानबिन गरिरहेको छ । अभियुक्त भगाउने व्यक्ति पनि दोषी हुने भएपछि अन्सारीको उच्च प्रहरी अधिकारीसँग निकटता भएकाले उनीमाथि कारबाही हुनसकेको छैन ।

‘यो त एउटा बाहिर आएको घटना मात्र भयो’, आयोगका एक सदस्य भन्छन्, ‘उनी आयोगमा सधैँ यस्तै संदिग्ध व्यक्तिहरुसँग बैठक बसिरहेका छन् ।’ मेनपावर सञ्चालक तथा मानवतस्करी गर्ने गिरोहसँग उनको आयोगभित्रै नियमित बैठक हुने गरेको स्रोत बताउँछ । आफूलाई उपराष्ट्रपतिको सल्लाहकार बताउने गुरुङ थरका व्यक्तिसँग उनको उठबस रहेको छ ।

आयोगभित्र पनि उनले बेथिति बढाएका छन् । आयोगका सचिव तथा उपसचिवसमेत उनीसँग वाक्क भइसकेका छन् । अधिकृत दयाराम तिवारी र लेखा अधिकृतसँग मिलेर आयोगमा उनले आर्थिक अनियमितता मच्चाउँदै आएका छन् । आयोगमा सचिव रेखा दासभन्दा अधिकृत दयाराम शक्तिशाली छन् ।

आयोगमा आवश्यक क्षेत्रमा खर्च नगर्ने र कमिसन आउने काम मात्र हुँदै आएको छ । अनुसन्धानका काम आफू निकट व्यक्तिहरुलाई दिई त्यसको ५० प्रतिशतसम्म कमिशन लिने गरेका छन् । आयोगमा आफ्नै दुई भतिजलाई कर्मचारीका रुपमा उनले नियुक्त गरेका छन् ।

त्यसो त उनको दुईवटा नागरिकता तथा शंकास्पद सर्टिफिकेटबारे पनि छानबिन हुनसकेको छैन । संसदीय सुनुवाइको क्रममा त्यस विषयमा उजुरी परेको थियो । तर, छानबिन नटुंगिएपछि उनी स्वतः नियुक्त भएका थिए ।

विगतदेखि नै विवादास्पद गतिविधिमा संलग्न केही एमाले अध्यक्ष केपी ओलीलाई प्रभावमा पारी आयोगको अध्यक्ष बनेका हुन् । उनका कारण एमालेसमेत बदनाम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्