एजेन्सी । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । बुधबार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले सो धारण राखेका हुन् ।
रुसी राष्ट्रपतिले सोमबार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः शुरु नहुने बताएपछि उक्त टिप्पणी सार्वजनिक भएको अल जजीराले उल्लेख गरेको छ । यसै बीच युरोपेली संघका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दै छन् । यद्यपि यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ ।
यसैबीच, चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेपछि यो पहिलो प्रत्यक्ष भेट हुने अल जजीराले जनाएको छ ।