Logo
Logo

अमेरिकी विदेशमन्त्री आकस्मिक युक्रेन भ्रमणमा


945
Shares

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन लगायत अन्य थुप्रै देशहरूलाई २ अर्ब अमेरिकी डलरको सैन्य सहायता घोषणा गर्न कीभको अघोषित भ्रमणमा रहेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

यसअघि, युक्रेनमा रुसको ‘पूर्वनियोजित, अव्यावहारिक, अनुचित र क्रूर युद्ध’ को निन्दा गर्दै ब्लिन्केनले अमेरिकाले युक्रेनलाई आफ्नो रक्षाका लागि हतियार उपलब्ध गराउन जारी राख्ने बताएका थिए। केही सञ्चार माध्यमहरूले ब्लिन्केनको अघोषित भ्रमणलाई ‘आश्चर्यजनक’ र आकस्मिक भ्रमणको रूपमा व्याख्या गरेका छन् ।

यो प्रयासले युक्रेनलाई प्रत्यक्षरूपमा अमेरिकाले पुर्याउँने भनेको मानवीय र आर्थिक सहयोगको एक हिस्सा हो र युक्रेनका नागरिकहरू विरुद्ध रुसको युद्ध अपराधको भर्त्सना गर्नु रहेको मन्त्री ब्लिन्केनले बताएका छन् ।

ब्लिन्केनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि अमेरिकी समर्थनलाई पनि पुनः दोहोर्याएका थिए। ‘यो पूर्णतया रुसले चाहेको दुखद र विनाशकारी युद्ध हो र संयुक्त राज्य अमेरिका र यसका सहयोगी एवं साझेदारहरू युक्रेनका जनतासँग उनीहरूको देश र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुनेछन्’, उनले थपेका छन् ।

‘हामी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न र युद्धको मैदान र वार्ताको टेबुल दुवै स्थानमा युक्रेनको स्थितिलाई बलियो बनाउन समर्थन गर्न जारी राख्छौं,’ उनले भने।

ब्लिन्केनले युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबासँग कीभमा भेट गरेका थिए । अस्टिन र ब्लिन्केन दुवैले अप्रिलको अन्त्यमा युक्रेनको भ्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यमा युद्ध शुरु भएदेखि नै उनीहरू युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च तहका अमेरिकी अधिकारीहरू हुन्। यस बीचमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न थुप्रै राष्ट्र प्रमुखहरू युक्रेन पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिलेसम्म त्यहाँ यात्रा गरेका छैनन् यद्यपि राष्ट्रपतिसँग फोनवार्ता भने भएको छ ।

रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारबाही’ शुरु गरे यता पश्चिमा देशहरूले यस युद्धलाई अप्रत्याशित युद्धको संज्ञा दिदै मस्कोमाथि कयौं नाकाबन्दी लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्