एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेका थिए । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।
सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् । उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका थिए । उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो ।
बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेका थिए ।