Logo
Logo

एमालेसँग नजिकिँदै लोसपा, लगातार छलफलमा ओली-महन्थ


1.9k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुट्न सकस भइरहेको छ । यसैबेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्न अग्रसर भएको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग चुनावी तालमेल गर्न छलफल थालेको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुर केही दिनयता लगातार छलफल गरिरहेका छन् ।

यसैक्रममा ओली र ठाकुरबीच शुक्रबार पनि छलफल भएको छ । एमालेका एक नेताका अनुसार उनीहरू तीन दिनयता दैनिक छलफलमा रहेका छन् । तर, उनीहरु अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैन ।

ती नेताले लोसपासँग चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशा रहेको बताएका छन् । एमालेले नै लोसपालाई चुनावी सहकार्यबारे प्रस्ताव राखेको हो । तर, लोसपाका अध्यक्ष ठाकुरले निर्णय गर्न नसक्दा छलफल लम्बिएको हो ।

मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा रहेको छ । तर, पार्टी अध्यक्ष उपेन्द्र यादव सिट बाँडफाटमा निष्कर्षमा पुग्न नसकिरहेका बेला लोसपाले एमालेसँग सहकार्यबारे छलफल अगाडि बढाएको हो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पनि सत्ता गठबन्धनसँग चुनावी तालमेलको प्रयासमा प्रगति हुन नसकेकाले एमालेसँग मिल्ने सम्भावना बढेको बताएका छन् ।

उनले एक अनलाइनसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे पनि सत्ता गठबन्धनमा जाने सम्भावना टर्दै गएको बताएका छन् ।

‘हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गरेका थिए’ महतोले भने, ‘तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन ।’

प्रतिक्रिया दिनुहोस्