Logo
Logo

रैथाने बाली : ‘मूल्यवान’ कर्णाली किसानका सम्पदा


1.1k
Shares

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानका कमल नेपालीले आठ वर्षदेखि रैथाने बालीका उत्पादनहरु मात्र खरिद–बिक्री गर्दै आएका छन् ।

बाँकेको कोहलपुरमा पसलको शाखा सञ्चालन गर्नुका साथै उहाँले कर्णालीका रैथाने बालीका उत्पादन र अर्गानिक खाद्यवस्तु तथा फलफूलहरु बुटवल, नारायणगढ र काठमाडौंसम्म पठाउने गर्छन ।

कोदोको पिठो, फापर, जौंको च्याख्ला, चिनो, कागुनो, जुम्ली सिमी, मार्सी चामल लगायतका खाद्यवस्तुहरु बेचेर राम्रो आम्दानी गर्न सफल नेपालीले गत वर्षदेखि ‘मूल्यवान’ लोगो अंकित उत्पादनहरु बजारमा ल्याएपछि अझ माग बढेको छ ।

चन्दननाथ सहकारी संस्थाले रैथाने बालीका उत्पादनसम्बन्धी जुम्लामा मिनीमार्केट र सुर्खेतमा कोशेली घर सञ्चालन गरेको छ । सहकारीका व्यवस्थापक विश्वराज खत्री कर्णालीका हिमाली भेगमा उत्पादन हुने दुर्लभ खाद्यवस्तुहरु आफूहरुले विश्व बजारीकरण गर्दै आएको बताउछन् । यो सहकारीले सुर्खेतबाट जुम्ली मार्सी चामल, फापर, चिनो, कागुनोका उत्पादनलाई आकर्षक प्याकेजिङ गरी काठमाडौं, पोखरा र चितवन पठाउने गर्दछ ।

रैथाने बालीका उत्पादनहरु मात्र बेच्ने सहकारीले गत वर्ष डेढ करोड बढी कारोबार गरेको जनाएको छ । यो सहकारीले पनि ‘मूल्यवान’ लोगो अंकित रैथाने बालीका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

स्थायीय बजारका साथै सुर्खेत, नेपालगञ्ज, कोहलपुर, धनगढी, महेन्द्रनगर, बुटवल, पोखरा, हेटौंडा, काठमाडौं, विराटनगर, धरान, झापा लगायतका स्थानमा कर्णालीका प्राङ्गारिक एवं रैथाने बाली वस्तुहरुको बिक्री वितरण हुने गरेको छ ।

कतिपय सहरमा रैथाने बालीका उत्पादनहरुको मात्र बिक्री केन्द्र स्थापना भएका छन् । बाह्य मुलुक भारत, बङ्गलादेश र जापानमा व्यवसायिक निर्यात हुनुका साथै बेलायत, अमेरिकालगायतका मुलुकमा कोशेलीका पुग्ने गरेको बताइन्छ । स्थानीय व्यापारी, सङ्कलनकर्ताहरु कृषकको घरदैलोमा पुगेर सङ्कलन गर्ने गर्दछन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाली विकास महाशाखाका अनुसार डोल्पामा तीन, मुगुमा चार, हुम्लामा छ, जुम्लामा २४, दैलेखमा एक, सुर्खेतमा १४, रुकुम पश्चिममा आठ, जाजरकोटमा दुई, सल्यानमा तीन बिक्री केन्द्र एवं कोशेली घर छन् ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा अर्गानिक माउन्टेन फ्लेवर-दि अर्गानिक भ्यालीमा ‘मूल्यवान’ लोगो अंकित उत्पादन बिक्रीमा राखिएको छ । सुर्खेतमा जुम्ली मार्सी चामल, चिनो कागुनो प्रतिकेजी रु. २५०, फापरको पिठो २४५, जौंको च्याख्ला १२५, जुम्ली सिमी २०० मा बिक्री हुन्छ ।

रैथाने बालीका खाद्य वस्तुले बजारमा राम्रो मूल्य पाएको व्यवसायी बताउँछन् । युवराज प्रकृति अर्गानिक खाद्य पसलका सञ्चालक नेपाली गर्त वर्ष मात्रै ४५ क्विन्टल रैथाने बालीका उत्पादनहरु प्रदेश बाहिरका आफ्ना बिक्री केन्द्रमा पठाएको बताउछन् । कर्णाली प्रदेश बाहिर विभिन्न सहरमा रैथाने बालीका उत्पादनहरुको बिक्री केन्द्र छन् ।

रैथाने बाली भन्नाले परम्परागत रुपमा सदियौंदेखि कृषकहरुले खेती एवं संरक्षण गर्दै आइरहेका कृषि बाली हुन । ‘कर्णालीमा उत्पादन हुने केही यस्ता खाद्यान्न बाली छन्, तिनको खपत कर्णालीभन्दा बाहिर बढी हुने गर्दछ,’ मन्त्रालयका प्रवक्ता धनबहादुर कठायत भन्छन,’बजारीकरण र उच्च मूल्यका हिसाबले किसानका लागि यो महत्वपूर्ण हो, मूल्य नपाएर किसान चिन्तित हुनुपर्ने अवस्था छैन्, उत्पादन मात्रै गर्न सक्नुप¥यो, सङ्कलनकर्ता किसानकै घरमा पुग्छन् ।’

उहाँका अनुसार बदलिँदो खानपान शैलीका कारण ग्रामिण भेगमा रैथाने बालीहरुको उपभोग निकै कम र सहरी क्षेत्रमा बढी छ । कम शारिरीक श्रम गर्ने सहरी जनसङ्ख्यामा उच्च रक्तचाप, मधुमेह, कोलेस्टोल आदिजस्ता समस्याबाट पीडित हुने थालेपछि अचेल रैथाने बालीमा भएको पौष्टिक तत्वको महत्वका कारण यसको उपभोग तथा माग दिनदिनै बढ्दै गएको छ ।

रैथाने बाली उत्पादन हुने कर्णालीका क्षेत्रहरु स्वतः प्राङ्गारिक छन् । भौगोलिक विकटताले रासायनिक मल र विषादीको उपलब्धता र प्रयोग हुन नसक्दा स्वतः प्राङ्गारिक उत्पादन हुने गरेको कृषि विज्ञहरु बताउँछन् । वरिष्ठ कृषि विज्ञ सूर्यनाथ योगी कर्णालीको विशिष्ट भूगोल, रैथाने हावापानी र विषादीरहित खेती प्रणालीबाट उत्पादन गरिने भएकाले आन्तरिक तथा बाह्य बजारमा क्रमिक रुपले माग बढ्दो रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्